सिरियामा हवाइ हमला गर्ने प्रस्ताव संसदमा

  • 2 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters

ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरनले सिरियामा इस्लामिक स्टेट समूह विरुद्ध ब्रिटेनले पनि हवाइ हमला गर्नु पर्छ भन्ने प्रस्ताव देशको संसदमा प्रस्तुत गरेका छन्।

प्रधानमन्त्री क्यामरनले त्यस्तो हमलाको उद्देश्य ब्रिटेनका जनतालाई आतंकवादी हमलाबाट सुरक्षित राख्नु हुने बताएका छन्।

तर विपक्षी दलका नेताले उनलाई युद्धमा जान हतारो गरेको आरोप लगाएका छन्।

कतिपय विपक्षी नेताहरुले उक्त प्रस्ताव फिर्ता लिन दबाब दिएका छन्।

आलोचना

प्रधानमन्त्री क्यामरनले सांसदहरुलाई सम्बोधन गर्दै सिरियामा रहेको इस्लामिक स्टेट विरुद्ध हवाइ हमला गर्दा त्यसको उद्देश्य ब्रिटेनका जनतालाई आतंकवादी हमलाहरुबाट सुरक्षित राख्‍नु नै हुने बताए।

उनले आफ्नो भनाइ राख्‍दा त्यस्तो हवाई हमलाको विपक्षमा रहेकाहरुलाई आतंकवादीहरु प्रति नरम भावना राख्‍ने भनी प्रयोग गरेका शब्दावली प्रति क्षमा याचना गर्नु पर्ने आवाज पनि उठेको छ।

संसदमा विपक्षी लेबोर पार्टीका नेता जेरमी कोर्बीनले डेविड क्यामरनको त्यस्तो भनाइले प्रधानमन्त्री पदको गरिमालाई नै आंच पुराएको टिप्पणी गरेका थिए।

तर प्रधानमन्त्रीले भने क्षमयाचना गर्न अस्वीकार गरेका छन्।

सिरियामा इस्लामिक स्टेट विरुद्ध हवाइ हमला गर्ने प्रस्तावका बारे संसदमा दश घण्टासम्म छलफल चल्नेछ र त्यसको अन्त्यमा उक्त प्रस्तावमाथि मतदान हुनेछ।

त्यस्तो मतदानले नै सिरियामा विभिन्न निशानाहरुमाथि हवाइ आक्रमण गरिरहेका देशहरु फ्रान्स, अमेरिका, रुसका साथमा ब्रिटेन पनि सहभागी हुन्छ कि हुंदैन भन्ने कुराको निर्धारण गर्नेछ।

मतदान

सरकारले प्रस्तुत गरेको हवाइ हमला सम्बन्धी प्रस्ताव प्रधानमन्त्रीले अनुमान गरे अनुसार नै पारित भएमा बम हमला गर्ने कार्वाही केही दिन भित्रै आरम्भ हुन सक्नेछ।

विपक्षी नेता जेरमी कोर्बीनले उक्त सरकारी प्रस्ताव विरुद्ध मतदान गर्न आफ्ना सांसदहरुलाई कडा निर्देशन नदिइ सांसदहरुलाई आफ्नो चाहना अनुसार मतदान गर्ने छुट दिएका छन्।

संसदमा मतदान पूर्व बीबीसीले गरेको एक अनुसन्धान अनुसार सो प्रस्तावका बारे मतदान गर्ने अनुमान गरिएका ६४० सांसद मध्ये ३६२ जना त्यसको पक्षमा रहेका देखिएको छ भने १७५ जना विपक्षमा।

बांकी रहेका मध्ये १९ जना सांसद सरकारलाई समर्थन गर्न सक्ने मनस्थितिमा रहेका देखिएको छ र ८० जना अनिर्णित रहेका छन्।