'क्यालिफोर्निया घटनाबाट अमेरिकी आतंकित हुँदैनन्'

  • 5 डिसेम्बर 2015
तशफीन मलिक तथा सैयद रिजवान तस्वीर कपीराइट ABC NEWS I AP
Image caption इस्लामिक स्टेट समूहले हमलाकारी दम्पती आफ्नो समर्थक रहेको दावी गरेको छ

अमेरिकी राष्ट्रपति ओबामाले १४ जना मारिने गरी बुधवार क्यालिफोर्नियामा भएको गोलीकान्डबाट अमेरिकी जनता आतंकित नहुने बताएका छन्।

साप्ताहिक रेडियो सम्बोधनमा उनले हमलामा संलग्न दम्पतीलाई आतंकवादी आक्रमण गर्न उक्साइएको हुनसक्ने बताए।

एउटा रेडियो सन्देशमा इस्लामिक स्टेट समूहले उक्त आक्रमण उसका समर्थकहरुले गराएको बताएको छ।

अल बायन रेडियो मार्फत प्रसारण गरिएको सन्देशमा उक्त हमलाको योजना इस्लामिक स्टेट समूहले बनाएको थियो वा थिएन भन्नेबारे चाहिं केही उल्लेख गरिएको छैन।

परिणाम

साथै सो उग्रवादी समूह हमलाकारी २७ वर्षीय तशफीन मलिक र उनका २८ वर्षीय श्रीमान सैयद रिजवानसँग सम्पर्कमा रहे वा नरहेको भन्नेबारे पनि कुनै संकेत दिइएको छैन।

सान बेर्नार्डिनोमा १४ जना मानिसहरुलाई मारेपछि प्रहरीसँग भएको भीडन्तमा दुबै हमलाकारी मारिएका थिए।

अमेरिकी सरकारी सूत्रहरुले आक्रमणकारीहरुले आइएस समूहबाट प्रेरणा लिएको हुनसक्ने जनाएका छन्।

हमलाकारी महिला मलिकले सञ्चालन गरेको फेसबुक अकाउन्ट मार्फत उग्रवादी समूह आइएसको प्रंशसा गरेको पाइएको अनुसन्धानकर्ताहरुले बताए पनि ती सामाग्रीहरु उनले आफै राखेकी थिइन् भन्नेबारे स्पष्ट भइसकेको छैन।

बीबीसीका अरब मामिला सम्पादक सेबास्टियन असर भन्छन, "यदि आइएसको प्रेरणामा उक्त हमला गरिएको पुष्टि भए केही समययता आफ्नो निर्देशन विना आक्रमणहरु गर्न निर्देशन दिँदै आएको उक्त उग्रवादी समूहले आफ्नो योजना सफल हुन थालेको ठान्नेछ।

आलोचना

यसअघि राष्ट्रपति ओबामाले सैन्य प्रकृतिको हतियारको प्रयोग गरी क्यालिफोर्नियामा भएको आक्रमणले अमेरिकामा मानिसहरुलाई एकदमै सजिलै हतियार राख्न दिइनाले दुखद परिणाम निम्त्याएको कुरा पुन: सम्झाएको बताएका थिए।

आफ्नो साप्ताहिक रेडियो सम्बोधनमा ओबामाले भने, “सरकार कानुन पालना गर्ने निकाय र समुदायका नेताहरुले यस्ता खालका घृणात्मक विचारधाराको प्रभावमा मानिसहरुलाई पर्न नदिन एक ठाउँमा उभिएर काम गर्नुपर्छ।”

त्यसअघि “अमेरिकामा बन्दुकको महामारी बन्द गर” भन्ने शिर्षकमा न्यूयोर्क टाइम्स पत्रिकाले झन्डै १०० वर्ष यता पहिलोपटक प्रथम पृष्ठमा सम्पादकीय छापेको थियो।

उक्त सम्पादकीयले अमेरिकी जनतालाई सुरक्षित राख्नुको सट्टा हतियार निर्माण गर्ने लबीहरुबाट रकम लिने गरेको भन्दै अमेरिकी नेताहरुको चर्को आलोचना गरेको छ।