सत्तारुढ दलहरुद्वारा अख्तियारको आलोचना

  • 6 डिसेम्बर 2015
Image caption अख्तियारले पत्र काटेकामध्ये एमालेका तीन पूर्वमन्त्री सहित ६ जना नेता छन।

आफ्ना केहि नेताहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पति जोडेको आशंकामा छानबिन प्रक्रिया थालेपछि प्रमुख दुई सत्तारुढ दलहरुले उक्त कदम पूर्वाग्रही भएको बताएका छन्।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका नेताहरुले अख्तियारको प्रमुख आयुक्तमा लोकमान सिंह कार्कीको नियुक्तिको विपक्षमा उभिएका नेताहरुलाई छानेर पत्र काटिएको भन्दै चाँडै पार्टीले त्यसबारे संस्थागत धारणा बाहिर ल्याउने बताएका छन्।

एकीकृत माओवादीले अख्तियारको कदम नेताहरुलाई राजनीतिक रुपले बदनाम गराउने उद्देश्यले आएको हुनसक्ने जनाएको छ।

पछिल्लो छानविनका बारेमा अख्तियारले भने कुनै प्रतिक्रिया दिएको छैन।

अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक लकर बन्द गराइ अकुत सम्पति जम्मा गरेको भन्ने आरोपमा बयान दिन पूर्वमन्त्री, सांसद, पूर्व मुख्य सचिव एवं प्रशासकहरु सहित २९ जनालाई बोलाएको खबरहरु सार्वजनिक भए लगत्तै त्यसप्रति सतारुढ नेताहरुको प्रतिक्रिया आएको हो।

समाचारहरुमा जनाइए अनुसार अख्तियारले पत्र काटेका नेताहरुमा तीन पूर्वमन्त्री सहित एमालेका ६ जना नेता छन्।

आईतबार चितवन पुगेका एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै भ्रष्टाचारको बातसमेत नलागेका नेताहरुलाई कारबाही अघि बढाएर अख्तियारले राजनीतिमा हात हाल्न खोजेको टिप्पणी गरे।

अख्तियारले नेताहरुलाई बयानका लागि बोलाएकोबारे पार्टीले छिट्टै आधिकारिक धारणा तय गर्ने भन्दै एमालेका सचिव प्रदिप ज्ञवालीले विगतमा अख्तियारको प्रमुख आयुक्त नियुक्त हुने बेलामा त्यसप्रति फरक धारणा राखेका नेताहरुलाई पत्र काटिएकाले आंशका बढेको बताए।

उनले भने, “जुन समय छनौट गरिएको छ र जुनजुन साथीहरुलाई छानबिनको दायरामा ल्याइएको छ त्यसले आशंकाहरु पैदा भएका छन।"

उनले थपे, "अहिले हेर्दा विगतमा जो-जो साथीहरुले प्रमुख निर्वाचन आयुक्तको सिफारिस प्रकृया उपयुक्त भएन भनेर प्रश्न उठाउनुभएको थियो, ती सबैलाई प्रतिशोध लिने गरी छानबिन प्रक्रिया अघि बढाइदैँछ भन्ने हामीलाई आशंका छ।”

अख्तियार लगायतका संवैधानिक निकायका अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै एमाले सचिव ज्ञवालीले हाल अख्तियारले नियमित सम्पति विवरण बुझाउँदै आएका र लोकप्रिय नेताहरुलाई निशाना बनाएको उल्लेख गरे।

प्रतिक्रिया

अख्तियारको पत्र बुझेका एकिकृत माओवादीका महासचिव कृष्णबहादुर महराले आफ्नो सम्पतिबारे सार्वजनिक रुपमै छानबिन गराउन तयार रहेको बताए।

उनले भने, “पत्रमा केही कुरा बुझ्ने भनेको छ विषय स्पष्ट छैन, तर मैले आफ्नो श्रोतहरुसँग बुझ्दा सम्पत्ति विवरण फारम भर्ने सामान्य कारण मात्र हो भन्ने बुझेको छु, बाहिर जुन तरिकाले यति धेरै कुरा आएको छ त्यो सुनियोजित रुपमा राजनीतिक ढंगले अलिकति बदनाम गर्न खोजेको जस्तो देखिन्छ।”

पार्टीको जारी केन्द्रिय समितिको बैठकमा आफू व्यस्त रहेको भन्दै महराले त्यो सकिए लगत्तै अख्तियारमा उपस्थित हुने जानकारी दिए।

अख्तियारद्वारा पत्र काटिएका मध्ये एक साझा यातायतका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक कनकमणि दिक्षीतले समाजिक सञ्जाल ट्वीटरमा, आफू दिल्ली उड्ने जहाज भित्रै ल्याएर अख्तियारको पत्र बुझाइएको भन्दै अख्तियारमा उपस्थित हुन हतारो र उत्सुकता रहेको प्रतिक्रिया दिएका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताले नियमित रुपमा अनुसन्धान भइरहेका विषयबारे आफूले बोल्न नमिल्ने बताएका छन।

केही आयुक्तहरुले पछिल्लो प्रकरणबारे आफू बेखबर रहेको जनाएका छन्।

तर आयुक्तहरुबीच कार्यविभाजन हुने भएकाले आफ्नो कार्यक्षेत्रमा नपर्ने विषयमा भइरहेका अनुसन्धानबारे उनीहरुलाई जानकारी नहुनु नौलो नभएको एक जना अख्तियारकै अधिकारीले बीबीसीलाई बताएका छन।