यथाशीघ्र राजनीतिक समाधान होस्: भारत

  • 6 डिसेम्बर 2015
sushma तस्वीर कपीराइट MEAIndia
Image caption उपप्रधान तथा परराष्ट्रमन्त्रीसंग भएको भेटमा पनि स्वराजले छिटो राजनीतिक समाधान खोज्न आह्वान गरेको बताइन्छ

दिल्ली भ्रमणमा रहेका आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुसंगको संयुक्त भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले समावेशी नेपालका लागि समर्थन दोहोर्याएको भारतीय अधिकारीहरुले जनाएका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आइतबारदेखि दिल्ली भ्रमणमा छन्।

भारतीय सन्देश

भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले सामाजिक सञ्जाल ट्वीटरमा दिएको विवरण अनुसार स्वराजले संविधानको बृहत्तर अपनत्वका लाग आह्वान गरेकी छन्।

साथै उनले नेपाल जारी तनावको राजनीतिक हल यथाशीघ्र खोज्न र त्यसकै आधारमा सामान्य अवस्थामा फर्कन प्रोत्साहन गरेको स्वरुपले जनाएका छन्।

भारतीय पक्षले सुशील कोइराला नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव अघि बढाइए हाल जारी राजनीतिक तनाव हल हुनसक्ने भन्ने खालका औपचारिक तथा अनौपचारिक टिप्पणी गर्ने गरेको बताइन्छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा हालसालै दिल्ली पुगेर फर्किएपछि सत्तारुढ प्रमुख घटक र प्रमुख प्रतिपक्षीले उक्त संशोधन प्रस्तावसहित सीमांकनबारे राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुंगो लगाउने साझा धारणा तय गरेका थिए।

तर आन्दोलनकारी मोर्चाले त्यसलाई अस्वीकार गरिदिएको छ।

उक्त प्रस्ताव अस्वीकार गरेको भोलिपल्ट आइतबार मोर्चाका शीर्ष नेताहरु दिल्ली दौडाहामा निस्किएका हुन्।

'आन्तरिक मामिला'

मोर्चाका नेताहरुले स्वराजलाई भेट्नुअघि नेपालबारे गहिरो रुपमा चासो राख्ने भारतीय उच्चनेताहरुसंग कुराकानी गरेका थिए।

जनता दल युनाइटेडका शरद यादव, कंग्रेस आइका करण सिंह, नेशनलिस्ट कंग्रेस पार्टीका डिपी त्रिपाठी र कम्युनिष्ट पार्टी मार्क्सवादीका सीताराम येचुरीकसंग उनीहरुले भेटेको मोर्चाका नेताहरुसंगै दिल्ली पुगेकी तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य चन्दा चौधरीले बताइन्।

ती भेटमा नेपालको पछिल्लो अवस्थाबारे विचार आदानप्रदान भएको मोर्चाका नेताहरुले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।

फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालमा जारी पछिल्लो तनाव आन्तरिक मामिला भएको र आफूहरु नै मिलेर हल गर्ने समेत बताए।