मुस्लिमलाई प्रवेशमा रोक लगाउनुपर्छः ट्रम्प

  • 8 डिसेम्बर 2015
तस्वीर कपीराइट AFP
Image caption आफ्ना अभिव्यक्तिका कारण चुनावी प्रचारप्रसारका क्रममा डोनाल्ड ट्रम्प विवादमा पर्ने गरेका छन।

राष्ट्रपति पदका लागि उम्मेद्वारी दौडमा रहेका रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अमेरिकाप्रति मुस्लिमहरुमा घृणा हुनुको कारण थाहा नहुञ्जेल उनीहरुलाई तत्कालका लागि अमेरिका प्रवेशमा 'पूर्णरुपमा रोक' लगाउनुपर्ने बताएका छन्।

१४ जनाको ज्यान जाने गरी क्यालिफोर्नियामा भएको बन्दुक हमलापछि उनको पछिल्लो भनाई आएको हो।

जनमत सर्वेक्षणले उनकै शब्दमा अमेरिकीप्रति मुस्लिमहरुको 'घृणा' रहेको देखाएको भन्दै ट्रम्पले त्यसले मुलुकलाई जोखिममा पार्न सक्ने बताए।

उनले भनेका छन्, हाम्रो देशका प्रतिनिधिहरुले के भइरहेको छ भनी आंकलन नगरुञ्जेल सीमा बन्द रहनुपर्छ।

'गैरअमेरिकी'

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चाहिँ ट्रम्पको भनाईलाई 'गैरअमेरिकी' भनेको छ।

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ट्रम्पको भनाई अमेरिकी 'मान्यता र राष्ट्रिय सुरक्षा स्वार्थ विपरीत' छ।

रिपब्लिकन पार्टीकै तर्फबाट चुनावी दौडमा रहेका ट्रम्पका एकजना प्रतिद्वन्द्वीले उनलाई 'असन्तुलित' भनेका छन।

गत साता सान बर्नार्डिनोस्थित एउटा स्वास्थ्य केन्द्रमा एक मुस्लिम दम्पतीले गोली चलाउँदा १४ जनाको ज्यान गएको थियो।

निर्क्यौल

पत्रकारहरुलाई सोमबार प्राप्त ट्रम्पको वक्तव्यका अनुसार सेन्टर फर सेक्युरिटी पोलिसी अर्थात सुरक्षा नीति केन्द्र जस्ता जनमत सर्वेक्षण गर्ने संस्थाहरुको मत सर्वेक्षणले धेरै मुस्लिमहरुले अमेरिकीहरुलाई 'घृणा' गरेको देखाएका छन।

उनले भनेका छन्, “जनमत सर्वेक्षणका तथ्यांकहरुलाई नहेरी घृणा बुझाईभन्दा धेरै छ भन्ने कुरा कसैलाई नलाग्ने स्पष्ट छ, कहाँबाट र किन यो घृणा आउँछ, हामीले निर्क्यौल गर्नुपर्छ।”

वासिङ्गटनबाट बीबीसीका एन्थोनी जर्चर भन्छन्, चुनावी अभियानका क्रममा ट्रम्पले पटक-पटक रिपब्लिकन पार्टीको घाँटी समाई आप्रवासको विरोध गरेर र रैथानेको पक्षमा बोलेर विवादमा पार्ने गरेका छन।