'ट्रम्पको भनाई अमेरिकी मान्यता विपरीत'

  • 9 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने डोनाल्ड ट्रम्पको भनाईको विश्वव्यापी विरोध भइरहेको छ।

पेन्टागनले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको मुस्लिमविरोधी अभिव्यक्तिले इस्लामिक स्टेटलाई बढावा दिई अमेरिकाको राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने चेतावनी छ।

राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी दौडमा रहेका ट्रम्पले मुस्लिमहरुलाई पूर्णरुपमा अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए।

क्यालिफोर्नियाको सान बेर्नार्डिनोस्थित एउटा स्वास्थ्य केन्द्रमा एक मुस्लिम दम्पतीले १४ जनाको गोली हानी हत्या गरेपछि ट्रम्पले मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने बताएका थिए।

तर पेन्टागनका प्रेस अधिकारी पिटर कूकले त्यस्ता अभिव्यक्तिले इस्लामिक स्टेटको भनाईलाई बल पुर्याउने बताएका छन।

आतंकवाद

ट्रम्पको अभिव्यक्तिको विश्वव्यापी विरोध भइरहेको छ।

उनको अभिव्यक्तिको विरोध गर्नेहरुमा मंगलबार अपरान्ह अमेरिकी विदेशमन्त्री जन केरी थपिए, जसले इस्लामिक स्टेटविरुद्धको लडाइमा ट्रम्पको भनाई सहयोगी नभएको बताए।

अमेरिकी नेतृत्वको गठबन्धन फौजले सिरिया र इराकमा इस्लामिक स्टेट लडाकुहरुलाई निशाना बनाउँदै आएको छ।

क्यालिफोर्निया आक्रमणपछि देशभित्रै मौलाएको आतंकवादलाई लिएर अमेरिकामा चिन्ता व्यक्त भइरहँदा ट्रम्पको भनाई आएको थियो।

दलदल

क्यालिफोर्निया घटनाका दिन दुई आक्रमणकारीमध्ये तश्फीन मलिकले इस्लामिक स्टेटप्रति आफ्नो झुकाव रहेको घोषणा गरेको बताइएको छ।

तर रिपब्लिकन नेता ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै पेन्टागनले मुस्लिमहरुका निम्ति सीमा बन्द गरिंदा अतिवादी विचारधाराविरुद्ध लड्ने अमेरिकी प्रयासमा असर पर्ने बताएको छ।

ट्रम्पको नाम नलिई कुकले भने, “इस्लामिक स्टेटको भनाईलाई बल पुर्याउने र मुस्लिम आस्थालाई लिएर अमेरिकालाई दलदलमा पुर्याउने जुनसुकै कुरा निश्चित रुपमा अमेरिकी मान्यता विपरीत मात्र होइन हाम्रो राष्ट्रिय सुरक्षा विपरीत पनि हो।”