पाल्पाको ढोकाको विजोग

  • 9 डिसेम्बर 2015

माधव नेपाल

सम्वाददाता, बीबीसी नेपाली

तस्वीर कपीराइट none
Image caption ऐतिहासिक महत्वको भए पनि पाल्पाको ढोका निकै अव्यवस्थित देखिन्छ

पश्चिम नेपालको पाल्पा जिल्लाको सुन्दर शहर तानसेन पुग्दा जो कोहीको मन तान्ने विशाल ढोका अहिले विजोग हालतमा पुगेको छ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जंगबहादुरका भाई वद्री नरसिंह कुवरले बनाएको नेपालकै सबैभन्दा ठूलो मानिने सो ढोकाले उचित संरक्षण नपाउँदा ढल्ने अवस्थामा पुगेको बताइन्छ।

टेको

कुनैबेला घोडाले तान्ने वग्गी र हात्ती समेत आवतजावत गर्ने बताईने यो ढोका यतिखेर टेको लगाएर अड्याउन पर्ने अवस्थामा पुगेको छ।

स्थानिय वासिन्दाका अनुसार २०६२ सालमा भएको माओवादी आक्रमणका कारण यो ढोकामा ठूलो क्षति भएको थियो।

जसका कारण ढोकाको माथिल्लो भाग सद्दे भए पनि तल्लो भागको काठ मक्किसकेको छ।

८१ वर्षीय स्थानियबासी ईश्वरी प्रसाद शर्माले तानसेनका तत्कालिन तैनाथवाला वद्री नरसिंह कुँवरको वग्गी यही ढोका हुँदै आवत जावत गर्ने गरेको आफुले सुनेको बताउँछन।

बेला बेला सामान्य मर्मत सम्भार गरिएको भए पनि पर्याप्त र नियमित मर्मत नहुँदा ढोकाको हालत विग्रिएको स्थानियबासीहरु बताउँछन्।

“तत्कालीन सशस्त्र द्वन्द्वका बेला भएको माओवादी आक्रमणपछि पुरातत्व विभागले यो ढोकाको सामान्य मर्मत गरेको थियो,” उक्त ढोका अगाडी पान पसल चलाउँदै आएका स्थानिय ध्रुव खाती बताउँछन्।

पाल्पामा मनाईने भगवती जात्राको दिन अर्थात वर्षको एक दिन मात्र पूरा खोलिने यो ढोकालाई अन्य दिन भने आंशिक रुपमा तलको भाग मात्र खोल्ने चलन छ।

जीर्ण भए पनि उक्त ढोका हेर्न भने मानिसहरु नियमित आउने गरेको ढोका अगाडी पान टंकी चलाउँदै आएका मंगल प्रसाद मलेगो बताउँछन्।

माओवादी आक्रमणमा पुरै ध्वस्त भएको पाल्पाको दरवार पुनर्निर्माण गरी अहिले पहिला जस्तै बनाईए पनि दरवार पस्ने ढोका तर्फ भने सरकारको ध्यान जान नसकेको भन्दै स्थानिय वासिन्दाले दुखेसो गर्दै आएका छन्।