रुवाण्डा नरसंहारका प्रमुख आरोपित पक्राउ

  • 11 डिसेम्बर 2015
तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्र संघले भनेको छ, रुवाण्डामा आम नरसंहार हुंदा अग्रणी भूमिका खेलेको आशंका गरिएका एकजना व्यक्तिलाई प्रजातान्त्रिक गणतन्त्र कंगोमा पक्राउ गरिएको छ।

लाडीस्लास नहगान्ज्वालाई रुवाण्डाको सैन्यले एउटा गोप्य कार्वाहीका क्रममा अपहरण गरेको बताइएको छ।

उनी एकजना भूतपूर्व मेयर हुन् जसलाई सन् १९९४ मा हजारौं मानिसहरुको ज्यान लिएको र सामूहिक बलात्कारको आदेश दिएको आरोप लगाइएको छ।

उक्त नरसंहारका क्रममा झन्डै आठ लाख जनाको ज्यान गएको थियो।

आरोप

ती ५३ वर्षीय भूतपूर्व मेयरले सन् १९९४ मा रुवाण्डामा भएको आमनरसंहारका घटनाका क्रममा हजारौंको ज्यान लिने कार्यको आयोजना गरेको आरोप छ।

त्यस बखत भएको आमनरसंहारको घटनामा झण्डै आठलाख जनाको ज्यान गएको थियो।

संयुक्त राज्य अमेरिकाले लाडीस्लास नहागान्ज्वालाई सो नरसंहार भड्काउने मध्येका एक भनेको छ।

ती आरोपहरुका बारे नहागान्ज्वा र उनका वकिलहरुले हालसम्म टिप्पणी गरिसकेका छैनन्।

उनी संयुक्त राष्ट्र संघले खोजी गरिरहेका नौ जना संदिग्ध व्यक्तिहरु मध्येका एकजना हुन्।

बांकी अरुहरु अझै पनि फरार रहेका छन्।

मुद्दा

उनको गिरफ्तारीका लागि पचासलाख डलरको पुरस्कारको घोषणा गरिएको थियो।

एएफपी समाचार एजेन्सीका अनुसार उनलाई रुवाण्डामा मुद्दा चलाइने अनुमान गरिएको छ।

रुवाण्डामा भएको आमनरसंहारको घटनाका संदिग्धहरु विरुद्ध मुद्दा चलाएको संयुक्त राष्ट्र संघ समर्थित तान्जानियास्थित एउटा विशेष अदालतले गत हप्ता मात्रै औपाचारिक रुपमा आफ्नो ढोका बन्द गरेको थियो।

रुवाण्डामा भएको आम नरसंहारका घटनामा बहुसंख्यक हुतु समुदायका मिलिसियाले अल्पसंख्यक तुत्सी र उदारवादी हुतुहरुको ज्यान लिएका थिए।