खाडीका कामदारमाझ बढ्दो तापक्रमको चिन्ता

  • 11 डिसेम्बर 2015
कतार स्थित नेपालीको जमघट हुने ठाउँ तस्वीर कपीराइट BBC Nepali
Image caption कतार र अन्य खाडी देशमा वर्षेनी लाखौंको संख्यामा दक्षिण एसियाली कामदारहरु जाने गर्छन्

खाडीका विभिन्न देशहरुमा कार्यरत दक्षिण एसियाली कामदार आवद्ध समुदायका नेताहरु भन्छन्, विश्व तापमानमा भइरहेको वृद्धिको क्रम कायमै रहेमा खाडी देशहरुमा गर्मी बढेर काम गर्न नसक्ने अवस्था आउन सक्ने चिन्ताले कामदारहरुलाई छोपेको छ।

उनीहरुको भनाइमा विश्वभर गर्मी बढ्ने क्रम जारी रहेमा काम गर्न नसकेर खाडी क्षेत्र नै छोड्नु पर्ने हो कि भन्ने चिन्ताले त्यहाँ कार्यरत दक्षिण एसियाली कामदारहरुलाई सताइरहेको छ।

विश्व आप्रवासन संगठनका अनुसार दक्षिण एसियाली देशहरुबाट वर्षेनि करिब १५ लाख कामदार खाडीका विभिन्न देशहरुमा आउने गर्दछन्।

बढ्दो विश्व तापमान माझ खासगरी भवन बाहिर घाममा काम गर्ने कामदारहरु गर्मीको चपेटामा पर्न सक्छन् र त्यस्तो अवस्थामा भविष्यमा बाहिर काम गर्ने वातावरण बिग्रने हो कि भन्ने चिन्ता अहिले बढिरहेको छ।

हालैको एक अध्ययनले देखाएअनुसार यदि विश्वतापमानमा भइरहेको वृद्धिको दर नरोकिने हो भने गर्मी याममा खाडीका विभिन्न स्थानमा मानिसहरु बाँच्न नै असम्भव हुन सक्ने अवस्था आउन सक्छ।

‘प्रचण्ड गर्मी’

गर्मीयाममा खाडीका विभिन्न देशहरुमा तापक्रम बढेर ५० डिग्री सेल्सियस पुग्न थालिसकेको छ।

आप्रवासी कामदार समुदायका सदस्यहरु भन्छन्, वर्षमा पाँच महिनासम्म बिहान अबेरदेखि दिउँसोको सुरुवातसम्मको समयमा प्रचण्ड गर्मीका कारण घर बाहिर गर्नुपर्ने कुनै पनि काम गर्न असम्भव हुने गरेको छ।

"यसैगरी गर्मी बढिरहने हो भने घर बाहिर काम गर्ने कामदारहरुको लागि गर्मी ठूलो समस्या हुनेछ, त्यो जीवन मरणको प्रश्न हुनेछ,” कतारस्थित नेपाली कामदार समुदायका एक अगुवा मक्सद आलमले भने।

"यस्तो अवस्थामा मानिसहरुसँग घर फर्कने बाहेक दोस्रो विकल्प रहँदैन तर त्यस्तो अवस्थामा उनीहरुले आफ्नो जागिर गुमाउनेछन्।"

आफ्नो नाम बताउन नचाहने भारतीय कामदारहरुको समुदायका एक अगुवाले उनीसँग सहमत हुँदै भने, “हामी यहाँ गर्मी हुन्छ भन्ने थाहा पाएरै यहाँ काम गर्न आएका हौं। तर गर्मीको आफ्नै सीमा हुन्छ, यदि त्यो नाघ्यो भने के गर्ने होला भन्ने चिन्ताले हामीलाई सताएको छ।"

खाडीमा कार्यरत कामदारले घर पठाएको रकमले उनीहरुको परिवारजनलाई ठूलो सहयोग पुग्ने गरेको छ।

आलमका अनुसार खाडीका देशमा हालै भएको आप्रवासी कामदारको एक बैठकमा पनि बढ्दो गर्मीको विषयमा छलफल भएको थियो।

"अधिकांश कामदारलाई विश्व तापमानमा भइरहेको वृद्धि र प्यारिसमा जारी जलवायु सम्मेलनबारे थाहा थिएन, तर उनीहरु भन्दै थिए, गर्मी बढिरहेको छ र त्यो उनीहरुलाई चिन्ताको विषय हो।"

बढ्दो क्रम

हालै अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले गरेको एक अध्ययन अनुसार यदि तापक्रम बढ्ने अहिलेको क्रम नरोकिएमा खाडीका विभिन्न तटीय शहरहरु मानिसहरुको बसोबासको लागि अयोग्य हुन सक्छन्।

विश्वको तापक्रम अहिले ओद्यौगिक युग पहिलेको अवस्थाभन्दा करिब एक डिग्री सेल्सियस मात्र बढेको छ।

तस्वीर कपीराइट BBC Nepali
Image caption कतार र खाडीका अन्य देशमा लाखौंको संख्यामा नेपालीहरु काम गरिरहेका छन्

पश्चिम र मध्य एसियामा ०.४ देखि २.५ डिग्रीले तापक्रम बढेको जलवायु परिवर्तनबारेको राष्ट्रसंघीय अन्तरसरकारी प्यानलको भनाइ छ। उक्त प्यानलको भविष्यवाणी छ, सन् २०४६ सम्ममा सो क्षेत्रका खासगरी इराक, साउदी अरेबिया र इरानमा २ देखि ४ डिग्रीले तापक्रम बढ्न सक्छ।

वैज्ञानिकहरु भन्छन्, यदि विश्व तापमान दुई डिग्री भन्दा बढीले वृद्धि हुने हो भने समुद्र सतह बढ्ने, खडेरी हुने, वनजंगलमा आगलागी हुने क्रम बढ्ने, बाढी र पहिरोको जोखिम बढ्ने जस्ता जलवायु परिवर्तनका प्रभावहरु अनियन्त्रित हुनेछन्।

कतारस्थित भारतीय र नेपाली दूतावासले विभिन्न सञ्चारमाध्यमहरुलाई बताए अनुसार सन् २०१० यता कतारमा दुई देशका करिब १२ सय कामदारको मृत्यु भएको थियो।

तर प्रचण्ड गर्मीका कारण कति जनाको ज्यान गएको थियो, त्यो प्रष्ट छैन।

कामदार समुदायका सदस्यहरुका अनुसार बढ्दो तापक्रमका माझ हृदयघातका कारण कयौं कामदारको मृत्यु भएको थियो।

‘सक्दो प्रयास’

एक नेपाली कामदार तलेश्वर साहले भने, “गर्मीमा काम गर्दा मलाई टाउको दुख्ने र छालाको पत्र खुइलिने समस्या हुने गरेको छ। यस्तो अवस्थामा गर्मी अझै बढ्यो भने के होला?”

सन् २०२२को विश्वकप फुटबल आयोजना गर्ने तयारी गरिरहेको कतारमा १४ लाख विदेशी कामदार रहेको र त्यसको ६० प्रतिशत नेपाली र भारतीय रहेको बताइन्छ।

आधिकारिक रुपमा बोल्न नचाहने खाडी देशका एक अधिकारीले बढ्दो तापमान विश्वव्यापी समस्या भएकोले त्यसको समाधान सबैले मिलेर निकाल्नुपर्ने बताए।

“हामीले उर्जाको वैज्ञानिक प्रयोग गर्न सक्दो प्रयास गरिरहेका छौं तर सबैले आफ्नो तर्फबाट काम गर्नुपर्दछ।”