‘ह्याण्डल’ र ‘ब्रेक’मा अल्झिएको जिन्दगी

  • 12 डिसेम्बर 2015

अनिल यादव

सुनौली नाका, बीबीसी हिन्दी

तस्वीर कपीराइट manoj singh
Image caption १६ किलोमिटर लाइन बनाएका ट्रकका अधिकांश चालकहरु तास खेलेर समय कटाउने गरेको बताउँछन्।

नेपाल-भारत सीमा नाकादेखि करिब १६ किलोमिटर टाढा नौतनवांको संपहिता गाउँ नजिक भएर जाने सडकमा एउटा ट्रक रोकिएको छ, जसको पछाडि लेखिएको छ- ‘बुलबुलको जिन्दगी बिस्कुट र केकमा, चालकको जिन्दगी ह्याण्डल र ब्रेकमा’।

झट्ट हेर्दा ट्रक चालक ठट्यौली पाराका र हँसिला होलान् जस्तो लाग्छ।

तर क्याबिनभित्र चियाउँदा यो ठट्यौली पाराको शायरीबीच डिसेम्बर महिनाको चिसोमा एउटा पातलो बर्को ओढेर स्टेरिङ्गमाथि टाउको राखेर सुतिरहेका चालक हरिओम र बिँडी तानिरहेका किशोर सहचालक देखिन्छन्।

तीन दिन पहिले उनीहरु दिल्लीबाट ‘चिप्स्’ र ‘कुरकुरे’का पोका बोकेको ट्रक लिएर हिँडेका थिए।

'हाँसोमा उडाउँछन्'

ट्रक मालिक र आफूलाई पनि नाकाबन्दीबारे जानकारी नभएकोले सीमा नाकामा अड्किन पुगेको उनी बताउँछन्।

डिजेल हाल्न समेत हरिओमसँग पैसा छैन जसका कारण उनी अब दिल्ली पनि फर्किन सक्दैनन्।

उनी भन्छन्- नाकाबन्दी कहिले खुल्छ भनी सोध्दा प्रहरीले गाली गर्छन् र अरु ट्रक चालकहरु हाँसोमा उडाउँछन्।

जति सीमातर्फ बढ्छन्, उतिनै ट्रकहरुमा धुलोको तह बाक्लो देखिन्छ।

यस्ता चालकहरु पनि भेटिन्छन् जो डेढ-दुई महिनाअघि नेपालका लागि हिँडेका थिए र अहिले सडकछेउमा खुला आकाशमुनि बस्नुपरेको छ।

उनीहरुमध्ये धेरै जना पर्याप्त लगाउने लुगा लिएर हिँडेका थिएनन्।

उनीहरु भन्छन्, जसका साहु उदार छन् उनीहरुलाई स्थानीय बजारबाट लत्ताकपडा किनिदिएका छन् अन्यले चाहिँ जसोतसो जाडो छलिरहेका छन्।

पीडा

तस्वीर कपीराइट Getty

नाकाबन्दीका कारण नेपालीहरुसँगै १६ किलोमिटर लामो ट्रकको लाइनमा बसिरहेका हजारौं भारतीय ट्रक चालकहरु पनि नराम्ररी प्रभावित भएका छन् जसको पीडाले धेरैको ध्यान तानेको देखिंदैन।

ती ट्रक चालकहरुले मानौँ सानो भारत नै बसाएका होउन्।

चेन्नईबाट भारी यान्त्रिक सामानहरु बोकेको ट्रक लिएर आएका नन्दनकुमारको खुट्टामा चोट लागेर संक्रमण भएको छ।

खुट्टामा प्लास्टिक बेरिरहेका उनले स्थानीय झोले डाक्टरसँग उपचार गराइरहेका छन्।

उनलाई खुट्टाको चोटभन्दा हरेक बिहान इड्ली खान नपाएकोमा अझ बढी पीडा छ।

तस्वीर कपीराइट Getty
Image caption बाक्लो लत्ताकपडा लिएर नआएकोले जाडो कटाउन गाह्रो भएको ट्रक चालकहरुको गुनासो छ।

खाना खानलाई दुई किलोमिटर पर रहेको एउटा होटल पुग्नुपर्छ जहाँ आलु मात्र पाइन्छ र यो पनि निश्चित छैन कि घर कहिलेसम्म फर्किन पाइन्छ भनेर।

कोलकाताबाट रक्सीका खाली बोतलहरु बोकेका ट्रक लिएर नेपालको कुनै औद्योगिक क्षेत्रका लागि हिँडेका हरियाणाका ओमप्रकाश गुप्तालाई कुन कुराले रिस उठेको छ भन्दाखेरि राजनीतिक झगडाले डेढ महिनादेखि यस्तो अवस्था झेल्नुपरेको छ।

ढुवानी कम्पनीका ‘एजेन्ट’हरुले गाडीका कागजात भन्सार अधिकारीहरुलाई बुझाइसकेका छन्।

तर भन्सार अधिकारीहरुले कागजात फिर्ता गरिरहेका छैनन् ताकि उनीहरु फर्किन पाउन्।

ओमप्रकाश र उनका सहचालकसँग न्यानो कपडा पनि छैन।

उनीहरु सडकछेउमा रहेको एउटा चिया पसलमा आगो ताप्दै रात कटाउँछन्।

ठेलमठेल

तस्वीर कपीराइट MANOJ SINGH

नेपालमा निर्माण हुन लागेको एउटा रक्सी कारखानाका लागि कोलकाताबाट आवश्यक औजारहरु लिएर ३५ वटा ट्रक आइपुगेका छन्।

आजमगढका रामनिहोर तिनै ट्रकमध्येका एकका चालक हुन्।

विगत एक महिनादेखि खाली खेत नियाल्ने गरेका र तास खेलेर समय कटाउने गरेका रामनिहोर एउटा निष्कर्षमा पुगेका छन्-नर्कमा पनि ठेलमठेल हुँदोरहेछ।

उनले भने, बस्ती र पसल नजिक पनि ट्रक पार्किङ्ग गर्दा प्रहरीले पैसा लिने गरेको छ।

सडक छेउमा अस्तित्वमा नरहेको बजार अहिले भरिभराउ भएको छ, जहाँबाट दूध, अण्डा, पानी, चुरोट लगायतका सामानहरु केही बढी मूल्य तिरेर लिने गरिएको छ।

ती गाउँका बच्चाहरु भन्छन्- गैर हिन्दीभाषी प्रान्तका चालकहरु पनि भोजपुरीमा कुरा गर्न सिकिसकेका छन्।

जम्मूबाट आइपुगेका एकजना ट्रक चालकले भने, यदि यति धेरै दिन अड्किनुपर्ने पहिल्यै थाहा भइदिएको भए कश्मीरबाट गलैंचा र ऊनी कपडाहरु लिएर आउँथे। यहाँ बेचेर मन पनि भुलिन्थ्यो, नोक्सानीको पूर्ति पनि हुन्थ्यो।