नाकाबन्दीमा पल्सर मोटरसाइकलको कमाल

  • 11 डिसेम्बर 2015

अनिल यादव

बीबीसी हिन्दी, सुनौली नाका

Image caption मोटरसाइकल नहुने भारतीय गाउँलेहरुले साइकलबाट इन्धन तस्करी गर्ने गरेको बताइएको छ।

तीव्र गतिमा हाँक्न मिल्ने भनेर धेरैले रोज्ने गरेको पल्सर मोटरसाइकलको नारा छ- फियर द ब्ल्याक अर्थात कालोसँग होसियार।

संयोग नै भन्नुपर्छ नेपालमा नाकाबन्दीका दौरान सुनौली सीमासँग जोडिएका भारतीय गाउँमा कालोबजारीको सबभन्दा ठूलो माध्यम बनेको छ पल्सर।

त्यसको एउटा कारण हो- उक्त मोटरसाइकलको ट्यांकीमा १५ लिटर तेल अट्नु।

बेरोजगार युवा र विद्यार्थी केटाहरु दैनिक ३०० भारतीय रुपैयाँ भाडामा पल्सर मोटरसाइकल लिन्छन्, भारतीय पेट्रोल पम्पहरुमा ७० रुपैयाँ भारु तिरेर पेट्रोलले ट्यांकी भर्छन् र लाग्छन् सीमा पारी नेपालतिर।

जहाँ उनीहरु १२५ देखि १३० भारु अर्थात दुई सय जति नेपालीमा पेट्रोल बेचेर फर्किन्छन्।

जसले जति बढी खेप पेट्रोल नेपाल गएर बेच्छ, उसको रात त्यति बढी रंगीन हुन्छ।

हुन त तस्करीका लागि अरु मोटरसाइकल प्रयोगमा नआएका होइनन् तर पल्सरको तुलनामा अरु मोटरसाइकलहरुको ट्यांकी सानो हुने गरेकोले तस्करी गर्नेहरुलाई त्यति फाइदा नहुने रहेछ।

तीव्र गतिमा मोटरसाइकल कुदाउने यी किशोरहरु पछिल्लो एक महिनादेखि मुखमा मास्क लगाउन थालेका छन् तर त्यो खेतको धूलोबाट जोगिन नभई पेट्रोल पम्पका कर्मचारी र प्रहरीबाट बच्न हो।

किनकि पटक-पटक आवतजावत गर्नेहरुलाई प्रहरीले केरकार गर्छ र पेट्रोल पम्पहरु छेड हान्छन्।

सीमा अवरोधले ट्राभल एजेन्सीहरु कामविहीन भएका छन् तर ट्याक्सीमा ट्यांकीभरि तेल भरेर चालकहरु आम्दानी गरिरहेका छन्।

नाकाबन्दीबीच कैयौं नयाँ युवा लगानीकर्ताहरु जन्मिएका छन् जसका किस्सा पेट्रोल पम्पहरुमा सुन्न पाइन्छ।

आम्दानी

सुनौलीदेखि २५ किलोमिटर टाढा पर्ने एउटा जाँच चौकीसँग जोडिएको ठूंठीबारी गाउँका एकजना बेरोजगार युवाले १५,००० भारुमा पुरानो मोटरसाइकल किनेका थिए।

लगानी असुलेर अहिले उनी पैसा छापेसरह आम्दानी गरिरहेका छन्।

सीमा नाकासँग जोडिएको बरगदवा क्षेत्रबाट केही दिन पहिले डिजल लिएर गएका एकजना युवकलाई नेपालको नवलपरासी जिल्लामा मधेशी आन्दोलनकारीहरुले गोली हानेको बताइएको थियो।

तर पल्सर चालक युवाहरु उक्त घटनाको चर्चा गर्न चाहदैनन्।

उनीहरुका लागि त्यो घटना अपवाद मात्र हो, जुन कालोबजारीसँग सम्बन्धित नभई आपसी रिसइबीसँग जोडिएको थियो।

जसले मोटरसाइकल जुटाउन सक्दैन, उसले साइकलबाट जर्किनमा तेल तस्करी गर्छ।

यहाँसम्म कि विपन्न महिला र किशोरीहरु पनि पैसा सापटी लिएर ५/७ लिटर डिजेल खरिद विक्री गरी आम्दानी गर्ने गरेका छन्।

किचकिच

नौतनवां बाइपासस्थित सशस्त्र सुरक्षा बल (एसएसबी) को कमाण्डेन्ट कार्यालयदेखि केही पर रहेको पेट्रोल पम्पमा एकजनाले चाट बेच्नलाई ठेला राखिसकेका छन्।

पछिल्लो महिनासम्म उक्त ठेला नजिकैको एउटा विद्यालय अगाडि बस्थ्यो।

ठेलावाला भन्छन्- जहाँ केटाहरु हुन्छन्, त्यही मेरो ठेला हुन्छ। पहिले जोसँग १० रुपैयाँ हुँदैन्थ्यो, उसले अचेल दैनिक १,५०० सम्म कमाउन थालेको छ।

त्यो पम्पमा जर्किनहरुको लामो लाइन थियो।

छिट्टै तेल दिनुपर्यो भन्दै महिलाहरु पम्पका कर्मचारीहरुसँग किचकिच गरिरहेका थिए ताकि साँझ पर्नुअघि दशगजा क्षेत्र कटेर नेपालमा व्यापार गरी समयमै घर फर्किन पाइयोस्।

Image caption भारतीय पेट्रोल पम्पहरुमा अचेल इन्धन लिनेहरुको ठूलो लाइन देखिन्छ।

सीमा नाकासँग जोडिएका क्षेत्रमा एउटा ग्याँस सिलिण्डरको ग्याँस दुईवटामा बाँडिँदै थियो।

कालोबजारीमा ७२० भारुमा पाइने एक सिलिण्डर नाका कटाएर बेल्हियामा १,५०० भारुमा बेचिन्छ।

नेपालको भैरहवा र राजधानी काठमाण्डू पुर्याइंदा २,५०० देखि ३,००० भारुमा बेच्छन्।

वरदान

सुनौलीका स्थायी व्यापारीमा भने कोलाहल छ। किनकि कालोबजारीका मौलाउँदा उनका पसलका सहयोगीहरु काम छोडेर हिँडिसके।

सीमा नाका नजिकका क्षेत्रमा रिक्सा चालकहरु गायब छन्।

गहुँ छर्ने समय छ खेतालाहरु भेटिँदैनन्।

सीमा नाकासँग जोडिएका गाउँ क्षेत्रका मानिसहरुका लागि नाकाबन्दी वरदान साबित भइसकेको छ।

किनकि उनीहरुका लागि पैसा कमाउने यो ठूलो अवसर छ।

उनीहरु चाहन्छन् नाकाबन्दी लम्बियोस्।

यो क्षेत्रमा एउटा उखान छ- ‘पढाव न लिखाव बोर्डर पर बसाव’ अर्थात पढाईलेखाई नगरेको भएपनि सीमा क्षेत्र नजिक घर भए रोजगारी र आम्दानीबारे चिन्ता लिइरहनु पर्दैन।

फरेंदास्थित एउटा निजी नर्सिङ्ग होमको अघिल्तिर उभिरहेका एकजना गाउँलेले भने, “भारतले नेपाललाई भेन्टिलेटरमा राखिदिएको छ, जसरी भेन्टिलेटरमा राखिएका बिरामीका आफन्त डाक्टरले भनेपछि जति पनि पैसा निकाल्छन् त्यसैगरी यस क्षेत्रका मानिसहरुलाई नेपाले पैसा पैसा उरालिरहेको छ।”