विदेशी बस्ने गेस्ट-हाउसमा तालेबानको आक्रमण

  • 12 डिसेम्बर 2015
Image caption कैयौं बख्तरबन्द गाडीहरुमा तालेबान लडाकुले आगो लगाइदिएको प्रहरीको भनाई छ

तालेबान लडाकुहरुले अफगानिस्तानको राजधानी काबुलस्थित विदेशीहरु बस्ने गरेको गेस्ट-हाउसमा आक्रमण गरेका छन्।

उक्त गेस्ट-हाउस स्पेनको राजदूतावास नजिकै छ।

शुक्रबार साँझको व्यस्त समयमा नजिक एउटा ठूलो कार बम विष्फोट गराइएको र त्यसपछि गोली चलेको आवाज सुनिएको थियो।

शुरुमा स्पेनका अधिकारीहरुले आफ्नो राजदूतावास आक्रमणमा परेको बताएका थिए।

पुष्टि

तर पछि स्पेनका प्रधानमन्त्री मारियानो राखोयले त्यसको खण्डन गरे।

आफ्नो राजदूतावास नजिकैको गेस्ट हाउसलाई निशाना बनाइएको बताउँदै उनले भने, “आन्तरिक मन्त्रालयले आक्रमणमा एकजना प्रहरी अधिकारी मारिएको पुष्टि गरेको छ।”

प्रत्यक्षदर्शीहरुका अनुसार हताहत भएकाहरुलाई नजिकको अस्पतालमा लगिएको छ।

हताहत भएकाहरुको संख्याबारे आधिकारीक रुपमा थप केही बताइएको छैन।

निशाना

प्रत्यक्षदर्शीहहरुले शनिवार विहान पनि गोली चलेको र विष्फोटको आवाज सुनिएको जनाएका छन्।

तालेबानका अनुसार लडाकुहरु शेरपुर क्षेत्रमा एउटा कार बम विष्फोट गराएर त्यहाँस्थित एउटा भवनमा पसेका थिए।

उसले ‘विदेशीहरु बस्ने गरेको एउटा गेस्ट हाउसमा गरिएको आत्मघाती आक्रमणमा ठूलो संख्यामा विदेशीहरु या त मारिएका या घाइते भएका’ बताएको छ।

यो तालेबान लडाकुहरुले आफगानिस्तानमा उच्च तहका मानिसलाई निशाना बनाउँदै ठूलो आँटका साथ गरेका श्रृँखलावद्ध आक्रमणको पछिल्लो कडी हो।

खोजी

काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहिमीले बीबीसीलाई भने, “आक्रमणकारीहरु लुकिरहेका हुनसक्छन्, हामीले सबै सडकहरु बन्द गरेर उनीहरुको खोजी गरिरहेका छौं।”

आक्रमणमा ७ जना विद्रोहीहरु संलग्न रहेको बताउने अफगान प्रहरीले भवन हाताभित्र रहेका कयौं बख्तरबन्द गाडीहरुमा तालेबान लडाकुले आगो लगाइदिएको जनाएको छ।

मंगलवार साँझ कान्दाहार विमानस्थलमा तालेबानले गरेको आक्रमणमा कम्तीमा ५० जना मारिएका थिए।