दुबै पक्ष लचक हो‍‍औं: पूर्व राष्ट्रपति यादव

  • 12 डिसेम्बर 2015
तस्वीर कपीराइट bbc
Image caption पूर्व राष्ट्रपति यादवले आफूले समर्पण र पीडाका साथ संविधान जारी गरेको बताए

निवर्तमान राष्ट्रपति रामवरण यादवले आन्दोलनरत तराई केन्द्रित दलहरुलाई सीमा नाकाको अवरोध हटाउन र प्रमुख दलहरुलाई असन्तुष्ट पक्षका माग सम्बन्धमा गम्भीर छलफल गर्न आह्वान गरेका छन्।

देशको सर्वोच्च पदबाट बिदा लिएपछि पछिल्लो राजनीतिक तनावबारे पहिलोपटक औपचारिक रुपमा मुख खोलेका यादवले प्रमुख दलहरु र आन्दोलनकारी पक्ष दुबैप्रति आफ्नो असन्तुष्टि झल्काउंदै उनीहरुलाई मिलेर जान सुझाव दिए।

शीतलनिवासबाट बाहिरिएपछिको यादवको पहिलो सार्वजनिक राजनीतिक टिप्पणी विगतमा प्रमुख दलहरुले उनको सुझाव नमानेकोप्रति बढी लक्षित देखिन्थ्यो।

आग्रह

आइतबार राजधानीमा एक पुस्तक विमोचन कार्यक्रममा यादवले असन्तुष्ट पक्षलाई पनि समेटेर संविधान जारी गर्न आफूले दिएको सुझाव नमान्दा अहिलेको जटील परिस्थिति सिर्जना भएको सांकेतिक निष्कर्ष पनि सुनाए।

उनले भने, "संविधान घोषणा हुनुभन्दा ३/४ महिना अघिदेखि मैले त्यतिबेलाको सरकार, राजनीतिक दलहरु, प्रधानमन्त्री र संविधानसभालाई बारबार घच्घच्याएको थिएँ, यो संसद होइन, संवैधानिक आयोग होइन यो संविधानसभा भनेर।"

यस्तो असन्तुष्टि झल्किएपनि उनले आफ्नो पुरानै शैलीमा सबै समुदाय र क्षेत्रलाई एकतामा बांध्ने प्रयत्न गर्न सुझाव दिन भने छुटाएनन्।

त्यसमा तराई केन्द्रित आन्दोलनकारी पक्षको पनि उत्तिकै भूमिका रहेकोतर्फ सजग गराउंदै गर्दा उनले उनीहरुलाई सीमा नाका अवरोध हटाउन आह्वान पनि गरे।

आग्रह

"मधेशका पार्टीहरु, जनता र समाजले उसले आफ्नो गुनासो राखोस्, तर लोकतन्त्रको विधिबाट नाकामा बसेर होइन। उसले आफ्नो शैली बदलोस् भन्ने मेरो आग्रह छ," उनले भने।

पछिल्लो राजनीतिक मामिलामा यस्ता सार्वजनिक धारणा राख्न यादवलाई अवसर जुटाइदिएको राष्ट्रसंघका सहायक महासचिव कुलचन्द्र गौतमको पुस्तक ‘लस्ट इन ट्रान्जिसन’मा माओवादीले विगतमा अपनाएको हिंसात्मक बाटो, राष्ट्रसंघसहितका कतिपय अन्तर्राष्ट्रिय निकायको भूमिकाको तीखो आलोचना मात्रै होइन कुनै वादभन्दा पनि सुशासन र कानुनी राज्यको सिद्धान्त अंगाले समृद्धिका आशलाग्दा सम्भावना जीवितै रहेको समेत औल्याइएको छ।