बन्दले कुण्ठित बालबालिकाको शैक्षिक अधिकार

  • 13 डिसेम्बर 2015

खासमा यो वर्ष पढाई भएकै छैन। वर्षको शुरुमै २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प आयो।

भूकम्पको खासै असर नपरेको तराईमा पनि वैशाख र जेठ पनि धेरैजसो विदै भयो।

असार एक महिना पढाई भएको थियो, साउनमा वर्षे विदा भयो; भदौ, असोज, कात्तिक महिना मोर्चाको आन्दोलनका कारण स्कूलहरु पुरै बन्द।

यहि मंसिरमा त हो पढाई शुरु भएको।

बिहानी कक्षा

बल्लतल्ल आन्दोलनकारीले स्कूल चलाउन दिने भन्ने निर्णय गरे। महिनौंपछि बल्लतल्ल खुलेको स्कूल, यो शीत लहरको बेला, बिहानीपख ।

Image caption कडा शीतलहरका बेला पनि कैयौं बालबालिका सीमेन्टको चिसो भुईँमा बसेका छन्

बिहानको ७ बजे कक्षा सुरु भएको घण्टी बज्छ ।

रामसिकिल दाइ घण्टी बजाउन बिरलै सम्झनुहुन्छ। हरेक घण्टी प्रायः कसै न कसैले सम्झाईरहनुपर्छ।

पहिलो घण्टी बज्यो मैले कक्षा दशमा अनिवार्य गणित पढाउनुछ, विद्यार्थी १५ जना जति मात्र आइपुगेका छन्।

यो वर्ष यो विद्यालयबाट नियमिततर्फ ८९ जनाले एस.एल.सीको परिक्षा दिन फाराम भरेका छन् ।

सोच शून्य

म जिल्ल पर्छु, आएका विद्यार्थीलाई पढाउने कि नआएकालाई पर्खिने? आँखाहरु विद्यार्थी आउने बाटोतिर पुग्छन्।

कडा शीतलहरबीच डम्म हुस्सु छ। म सोच शून्य हुन पुग्छु ।

एक्कासी ढोकामा माधवी आएर सोध्छिन् -"दाइ म हजुरको क्लास ‘अब्जर्ब’ गरौं?"

उनको कक्षा ९ मा पहिलो घण्टी अङ्ग्रेजी हो ।

"के भयो र तपाईंको क्लास ?" मैले प्रतिप्रश्न गरेँ । "मेरोमा कोही पनि विद्यार्थी आएका छैनन्।" उनले बिस्मयसाथ भनिन्।

"बस्नुस् न त्यसो भए" मैले "चक्रीय ब्याज" पढाउन सुरु गरेँ ।

विद्यार्थी आउने क्रम जारी रहिरह्यो। "माइ कमिन सर?"...........माइ कमिन सर ?......." मानौं, यो पहिलो घण्टी उनिहरुको स्वागतका लागि हो।

निरन्तरको विद्यार्थी आउने क्रमले मेरो कक्षा अवरोधपूर्ण भइरह्यो।

उनका विद्यार्थी आउन थालेको देखेर माधवी उठेर गइन् ।

नखाउँ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार भनेझैं भएको छ ।

आदर्शको भाषण

Image caption पढ्न भनेर चिसोयाममा हाफ बाउले लुगामै आएका छन् केटाकेटी

बनाएको पाठ योजना पुरा नहुने देखेपछि, पढाउन रोकेर एकछिन आदर्शका भाषण छाटेँ। एस.एल.सीको महत्त्व भट्याएँ। विद्यार्थीको अल्छिपना प्रति गुनासो गरेँ। भोलिदेखि घण्टी लाग्दा नआइपुग्ने विद्यार्थीले कक्षामा पस्न पाउनेछैन भनेर चेतावनी पनि दिएँ ।

यसो उसो गरेर पहिलो घण्टी १० कक्षामा र दोस्रो घण्टी कक्षा ९ मा सकियो । तेस्रो घण्टी खाली थियो । मनमा चैन थिएन ।

अफिसबाट बाहिर हेरेँ, प्राथमिक कक्षाहरु -छानो मात्र भएका टहरा छन्। न कक्षा छुट्याउने पर्खाल छ, न डेस्क बेन्च, न कालोपाटी ।

विद्यार्थीहरु आफैंले बोकेर आएका बोरा ओछ्याएर चिसो सिमेन्टमा बसेका छन् ।

जस्तै कठोर हृदय पनि पग्लिने दर्दनाक अवस्था छ: शीतलहरका समयमा नाङ्गो खुट्टामा आधा बाहुले सर्ट लगाएर आएका, जाडोले लुगलुग कामिरहेका अबोध बालबालिकाहरु। संख्या पनि निकै कम भएको छ हिजोआज।

दूरगामी प्रभाव

मधेस आन्दोलन जारी छ । पहिले विद्यार्थीहरु "प्रणाम सर" भन्थे हिजोआज धेरैले "जय मधेस सर" भन्छन् ।

आन्दोलनको निष्कर्ष के हुन्छ मलाई थाहा छैन तर हरेक तह र तप्कामा यसको दूरगामी प्रभाव रहिरहनेछ भन्ठान्छु।

आन्दोलनकै कारण बिहानी कक्षा चलाउनुपर्दाको मर्म भोग्नेलाई मात्र थाहा छ। अरुले बुझ्न र अरुलाई बुझाउन कठिन छ।

चौथो घण्टी कक्षा ८ मा पढाएँ र सिधै लागेँ कक्षा ६ मा। नियमित घण्टी हुँदा अफिस नगई सिधै कक्षा जाने मेरो बानी आफु कक्षा ११ पढ्दा आफैंले पढेको स्कुलमा केही समय पढाउँदा देखिकै हो।

"सर केबारी(ढोका) बन्द गर, जाडो लागिरहेछ", एउटा विद्यार्थीले भन्यो। मैले "तिमी" भनेको सुनेर उनिहरुले मलाई "तिमी" नै भन्न जाने । आजकल म "तपाईं" भन्छु, उनिहरु पनि सिक्दै छन् ।

मैथिली मात्रै जान्ने यी केटाकेटी भेटेपछि म आफूलाई "उत्कृष्ट" सम्झने तन्नेरी "केही नजान्ने" भएर शू मा झरेको थिएँ । हुल अगाडि उभिएर कसैलाई केही बुझाउन नसकेपछि आफैँलाई केहि पनि नजान्ने महशुस हुने नै भयो।

दोहोरो सिका

सिकाई दोहोरो छ। मसँग गणित अँग्रेजी सिक्ने उनीहरुसँग मैथिली सिक्दै गरेको पहाडे ठिटो म।

मैले ढोका बन्द गरेँ, उसले आफैंले खिड्की (झ्याल) बन्द गर्‍यो । अब अन्धकार.... , कसरी पढ्ने? फकाई फुलाई गरेर त्यो कक्षा पनि पढाएँ ।

निस्केर कक्षा ७ मा जाँदै थिएँ, एउटा विद्यार्थीले दौड्दै आएर सोध्यो - "म घर जान्छु सर, पेट दुखिसक्यो भोकले"। उ पेट मिचिरहेको थियो ।

म आँफै भोकले चुर थिएँ, विद्यार्थी भए म भागिदिन्थेँ ।

पदीय मर्यादा पालना गर्दा सुन्दर प्राकृतिक भावना कसरी गुमाउनु पर्दो रहेछ। मैले आफ्नै भोक देखाएर उसलाई सम्झाएँ। उ आज्ञाकारी बन्यो।

असन्तुष्टि

एउटा माध्यमिक विद्यालयको सञ्चालन शैली हेर्दा लाग्छ - यसरी त खहरे खोलाबाट टिपेर ल्याएको गुहे ढुङ्गाको मूर्तिले पनि चलाईदिन्छ।

यस्तो अपमानजनक शब्द प्रयोग कल्पनामा बगेको शब्द लहरी होइन ।

यसमा गहिरो सोच र विवेकपूर्ण विश्लेषण मात्र होइन म स्वयंको लगावयुक्त अनुभव पनि छ ।

Image caption न कालोपाटी छ न कक्षाहरु छुट्याउने पर्खाल विद्यार्थी आँफैले ल्याएको बोरा ओछ्याएर बस्छन्

विद्यालय सञ्चालित हुने प्रशासनको ढाँचामा भएको यावत विषयबस्तु बारे म बहस गर्न तयार छु ।

हो, म आजित भैसकेँ तर हार्न जान्ने प्रा‍णी म हुँदैहोइन ।

संघर्ष

इमान्दारिता माथिको बर्बर अन्याय मेरो संघर्षको मुख्य निशाना हो। म कुनै हालतमा पनि छोड्दिन ।

म बिहान ११:३० सम्म स्कूलमै हुन्छु र दिउँसोको ३:०० बजे फेरि स्कूल मै पुग्छु, नि:शुल्क थप कक्षा पढाउन, परिक्षाको लागि तयारी गराउनुपर्नेछ ।

खाना र आरामभन्दा बढी मलाई कर्तव्यप्रतिको प्रेम छ।

म यो प्रमाणित गर्न चाहन्छु "सिक्ने किताब मात्र होइन, जिन्दगी जिउने शैली पनि हो, प्राप्ति एउटा सर्टिफिकेट मात्र होइन, असल आचरण र व्यवहार पनि हो।"

मलाई थाहा छ, मेरै आँखा अगाडि अफिस कोठामा कति निर्दोष विद्यार्थीको हात र जिउमा बज्रेर भाँचिएका बलिया लाठीहरु कहिल्यै जोडिने छैनन्, न त उनीहरुको मन नै।

पीडाले बर्-बर् झरेका विद्यार्थीको आँशु फर्केर आउने छैनन्, न पिट्ने शिक्षक प्रति उसले कहिल्यै श्रद्धा गर्नेछ।

धेरैलाई थाहै छैन, धेरैले देखेकै छैनन्: रमाइलो र प्रेमिल बुझाई र सिकाइको छुट्टै बाटो पनि छ ।

मनमा अनेक कुरा खेलिरहँदा विभिन्न रिस, गाली र आवेगहरु आ-आफ्ना आकृति लिएर अगाडि आउँछन्, म सँग बोल्छन्, हाँस्छन् अनि फेरि म मुस्कुराउँछु ।

पहाडमा पढाउन आएका तराईका सरहरुबाट दीक्षित म तराई झरेर मैथिलीभाषी यी बालबालिकालाई दिक्षा हस्तातन्तरण गर्दैछु।

कुण्ठित अधिकार

यति ठूलो अधिकारको लडाईं चलिरहँदा यी मसिना बालबालिकाहरुको अधिकारको पक्षमा बहस कसले गर्छ ? सुनुवाइ कसले गर्छ ?

यदि हामी सार्थक र समुन्नत समाजको परिकल्पना गर्दैछौं भने, यहि समाजको अकाट्य हिस्सा यी बालबालिकाहरु किन सदैव कुण्ठित भइरहनुपर्छ ?

म सपना देखेर हिँड्छु भलै कहीँ नपुगुँ, म सत्यता टेकेर हिँड्छु, भलै सफलता नभेटुँ ।

(नोट: सरकारी विद्यालयका विद्यार्थीहरु एसएलसीमा ठूलो संख्यामा गणित, अङग्रेजी र विज्ञान विषयमा असफल हुन्छन्। टीच फर नेपाल संस्थामार्फत् विश्वविद्यालयमा उत्कृष्ट सावित भएका थुप्रै तन्नेरीहरु कतिपय सरकारी विद्यालयका विद्यार्थीलाई तीनवटा विषय पढाउने काममा संलग्न हुँदै आएका छन् । तिनैमध्येका एक हुन् नुवाकोटका नारायण अधिकारी। हाल धनुषाको स्कूलमा पढाइरहेका उनको अनुभव समय सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरिएको छ।)