काठमाण्डूमा रोहिंज्या शरणार्थीको अनशन

  • 17 डिसेम्बर 2015
तस्वीर कपीराइट bbc

म्यानमारबाट लखेटिएपछि नेपाल आइपुगेका केही रोहिंज्या मुसलमान शरणार्थीहरुले आफुले खाइपाइ आएको भत्ता बन्द गरिदिन लागेको भन्दै काठमाण्डूस्थित राष्ट्रसंघीय शरणार्थी कार्यालय सामु भोक हडताल गरेका छन्।

नेपाल सरकारबाट शरणार्थीको औपचारिक मान्यता नपाईने हुँदा विना कागतपत्र रोजगारी नमिल्ने स्थितिमा भत्ता समेत नपाइने हो भने आफुहरुको बसोबासको टुंगो लगाइदिन माग राख्दै उनीहरु कार्यालय अगाडि धर्ना बसेका छन्।

तर उक्त कार्यालयका अनुसार विश्वभर लागु भएको नयाँ नीति अनुसार जोखिममा परेका समूह बाहेक अन्यको भत्ता बन्द गरिन लागेको हो।

रोदन

काठमाण्डूको महाराजगञ्जस्थित राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोग (यूनएचसीआर) को कार्यालय सामु त्रिपाल टाँगेर धर्नामा बसिरहेका मोहम्मद यासीन हम्दानी आफ्नै भाषाको गीत मोबाइलमा सुन्दै समय कटाउँदै थिए।

कुनै समय आफ्नो गाउँमा धर्मको शिक्षा दिने गरेका हम्दानी, राज्यको उत्पीडन सहन नसकी भाग्नु परेको र भाग्दा भाग्दै नेपाल आइपुगेको दुखेसो सुनाउँछन्।

“म नेपालमा यस कारण आएं कि मैले बाँग्लादेश र भारतमा भेटेकाहरुले यहाँ मुसलमानहरुलाई राम्रो छ भनेर भने। भारतमा पनि मुसलमानहरुलाई केही समस्या छ भने बाँग्लादेशमा पनि बर्माबाट आएकालाई समस्या छ। त्यसैले नेपाल सुरक्षित भनेर आइपुगें।”

श्रीमति र बच्चासहित आइपुगेका उनी अहिले अरु केही साथीसंग मिलेर धर्ना दिइरहेका छन्।

एकातिर नेपाल सरकारबाट शरणार्थीको मान्यता नपाईने अनि अर्कोतिर यूएनएचसीआरले दिंदै आएको मासिक पाँच हजार रुपियाँको भत्ता काटिदिने भएपछि उनीहरुले या त घर फिर्ता गराइदिन या त नेपाल वा अन्य देशमा पुनर्वास गराइदिन माग गर्दै करीब दुई महिनादेखि धर्ना गरेका हुन्।

हडताल

त्यसले पार नलागेपछि गत १५ दिन देखि उनीहरुमध्ये चार जना भोक हड्तालमा बसेका छन्।

त्यसरी हड्तालमा बस्ने मध्ये रफिक आलम एक हुन्।

तस्वीर कपीराइट bbc

करीब दुई वर्ष अगाडी नेपाल आएको बताउने उनले टुटेफुटेको नेपाली लवजमा आफ्नो वेदना सुनाए।

“हामीलाई काम गर्न पनि दिएको छैन र पैसा पनि दिएको छैन। हामीसंग न त पैसा छ न त घर फर्कन सकिन्छ,” आलमले भने।

लामो समयदेखि भोक हडतालमा बसेकाहरुको स्वास्थ्य स्थिति विग्रंदै गएको उपचारमा संलग्नहरुले बताएका छन्।

“वहाँहरुको स्वास्थ्य स्थिति दिनदिनै विग्रंदै गएको छ। दुई जना अनशनकारीलाई केही दिन टिचिंग अस्पतालमा भर्ना गरेर समेत उपचार गरियो। अहिले जाडो बढेकाले समस्या झन थपिएको छ,” टिचिंग अस्पतालका विद्यार्थी कमल पण्डितले बताए।

बजेटको विषय

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यूएनएचसीआर भन्छ, उसलाई बजेट अभाव छ र त्यसैले भत्ता काट्नु परेको हो।

“विश्वभर शरणार्थीका आपतकालीन कार्यक्रमहरु बढेकाले बजेट धेरै त्यतापट्टि गएको छ। जसले गर्दा नेपाल र यो क्षेत्रमा बजेट अभाव छ। यसकारण सन् २०१६ को शुरु देखि यो भत्ता काटिन लागेको हो,” यूनएचसीआरका काठमाण्डू कार्यालयस्थित सहायक बाह्य सम्बन्ध अधिकृत दिपेश दास श्रेष्ठले बताए।

तर वृद्धवृद्धा, बिरामी, केटाकेटी तथा अन्य जोखिममा परेकाहरुलाई भने भत्ता निरन्तर दिइने उनले बताए।

पुनर्वास ‘जटिल’

पुनर्बासको माग जटिल भएकोले चाँडो सम्बोधन हुन गाह्रो पर्ने भएकाले तत्कालका लागि सीपमूलक तालिम दिइरहेको उनको भनाई थियो।

म्यानमारका अल्पसंख्यक मुसलमान रोहिंज्या समुदाय उत्पीडनमा परेपछि दशौं हजारको संख्यामा आफ्नो थातथलो छाडेर शरण खोज्दै भागेका थिए।

तस्वीर कपीराइट bbc

भाग्ने क्रममा धेरै जसो छिमेकी बाँग्लादेशमा पुगे भने केही भारत अनि भारतकै बाटोबाट करीब एक सयजना रोहिंज्या समुदायका मानिस नेपाल आइपुगेका हुन्।

नेपालले भुटानी र तिब्बती बाहेक अन्य देशबाट आइपुगेकालाई शरणार्थी दर्जा दिने गरेको छैन।

आँकडाहरुका अनुसार नेपालमा ९ देशका करीब पाँच सय त्यस्ता शरणका आकांक्षीहरु छन् जसलाई यूएनएचसीआरले शहरी शरणार्थी भन्ने गर्छ।