लाङटाङ पहिरो ‘परमाणु बम जस्तै शक्तिशाली’

  • 17 डिसेम्बर 2015
पहिरो अघि लाङटाङ गाउँ
Image caption भूकम्पपछि लाङटाङमा गएको पहिरोमा विदेशी पदयात्रुसहित १०० भन्दा बढी मानिसको ज्यान गएको थियो।

वैशाखमा नेपालमा विनाशकारी भूकम्पका प्रभावहरु निकै भयानक हुन सक्थे तर त्यस्तो नभएको वैज्ञानिकहरुले बताएका छन्।

वैशाखका भूकम्पका प्रभावहरुको समीक्षा गर्दै एक प्रतिवेदनमा वैज्ञानिकहरुले लेखेका छन्- वैशाखका भूकम्पपछि सोचेभन्दा निकै कम संख्यामा पहिरोहरु गए।

अमेरिकाको सान फ्रान्सिस्कोमा भएको अमेरिकी जियोफिजिकल युनियनको भेलामा सार्वजनिक गरिएको एक प्रतिवेदनमा भनिएको छ- स्थानीय चट्टानहरु निकै शक्तिशाली हुनु पहिरो कम जानुको एक कारण हुन सक्छ।

तथापि, वैज्ञानिकहरुले केही अद्भुत घटनाहरु पत्ता लगाएका छन्।

'शक्तिशाली'

काठमाण्डूदेखि उत्तरतिर रसुवाको लाङटाङमा पदयात्रा गरिने गाउँ नजिकै एउटा हिमाली भीर पूरै खसेको थियो जुन एउटा परमाणु बमले निकाल्ने आधा शक्ति जत्तिकै शक्तिशाली भएको उनीहरुको भनाइ छ।

उनीहरुले लाङटाङमा विनाशकारी पहिरो गएको घटनालाई परमाणु बम विष्फोटनसँग तुलना गर्दा फरक नपर्ने बताएका छन्।

वैज्ञानिकहरुले लेखेका छन् पहिरोसँगै आएको आँधीकामाझ लाङटाङ गाउँको एक भागका पूरै बस्ती जगैसमेत ध्वस्त भएका थिए।

सान फ्रान्सिस्कोबाट बीबीसीका जनाथन आमोस भन्छन्, हिमालय क्षेत्रमा सात म्याग्नीच्युडभन्दा माथिको भूकम्प जाँदा निकै धेरै पहिरो जानुपर्ने हो, तर नेपालमा वैशाखका भूकम्पले तुलनात्मक रुपमा कम पहिरो गयो भन्ने वैज्ञानिकहरुको भनाइ छ।

उनी लेख्छन्, “त्यति ठूलो भूकम्प जाँदा दशौं हजार पहिरो जाने गर्थ्यो, तर नेपालमा जम्मा ४ हजार ३ सय पहिरोहरु गएको पाइयो।”

लाङटाङ गाउँमाथिबाट आएको पहिरोमा २० लाख घन मिटर ढुंङ्गा र माटो एकैचोटी लाङटाङ उपत्यकाको जमिनमा झरेको थियो।

'५ रेन्जको टोर्नाडो'

वैज्ञानिकहरुले त्यसलाई जापानको हिरोशिमामा भएको परमाणु विष्फोटनको आधा शक्ति बराबरको भनेका छन्।

सो आंकलन प्रतिवेदनका वरिष्ठ लेखक जेफ्री कार्गेल भन्छन्, “लाङटाङ गाउँको एक भाग शक्तिसाली पहिरो वा पहिरोसँगै आएको इ एफ- ५ रेन्जको टोर्नाडो जस्तो शक्तिशाली आँधीले घरको ढुंगा वा स्लाबको जगै समेत उखेलेर उडाएको वा बगाएको थियो।”

मध्यान्हको समयमा झरेको सो विनाशकारी पहिरोमा परी पदयात्रामा गएका थुप्रै विदेशी पर्यटकसहित एक सयभन्दा बढी मानिसको ज्यान गएको थियो।

भूकम्पका बेला किन अपेक्षा गरिएजति धेरै पहिरो गएनन त?

त्यसको कारणबारे अध्ययन भइरहेको छ, तर वैज्ञानिकहरुले त्यस क्षेत्रका चट्टानको शक्तिका कारण धेरै पहिरो नगएको हुनसक्ने बताएका छन्।