विवादित अमेरिकी औषधी उत्पादक पक्राउ

  • 17 डिसेम्बर 2015
तस्वीर कपीराइट AP

औषधिहरुको मूल्यमा तीव्र वृद्धि गरेका कारण आलोचित एकजना विवादास्पद औषधि उत्पादन व्यवसायी मार्टीन श्क्रेलीलाई संयुक्त राज्य अमेरिकाको संघीय गुप्तचर निकाय, एफबीआईले पक्राउ गरेको छ।

विवरणहरुका अनुसार ती ३२ वर्षीय उद्यमी शक्रेलीलाई जालसाजीको आशंकामा गरिएको अनुसन्धानपछि न्यूयोर्कमा पक्राउ गरिएको हो।

'हेज फण्ड' भनिने एउटा लगानी पूँजी कोष र उनले पहिले नेतृत्व गरेका अर्कै औषधि कम्पनीको कारोबारलाई लिएर उनी गिरफ्तार भएका हुन्।

औषधिको मूल्य अस्वाभाविक दरमा बढाएको भन्दै उनको आलोचना हुँदै आएको थियो।

आरोप

रोयटर्स समाचार एजेन्सीका अनुसार मार्टीन श्क्रेलीलाई उनले पहिले नेतृत्व गरेका औषधि कम्पनी रेट्रोफीनका सम्पत्तीहरु प्रयोग गरी आफ्नो संचालनमा रहेको र लाखौं डलर नोक्सानी बेहोरेको एमएसएमबी हेज फण्डको ऋण गैरकानुनी रुपमा तिरेको आरोपहरु लगाइएको छ।

गत सेप्टेम्बर महिनामा मार्टीन श्क्रेलीले साठी बर्ष देखि प्रचलित परजीवी प्रतिरोधी एउटा औषधि, डाराप्रिम, उत्पादनको अधिकार खरीद गरी त्यसको मूल्य प्रति चक्की साढे तेह्र डलरबाट बढाएर साढे सातसय डलर पुराएपछि उनीप्रति सार्वजनिक रुपमा आक्रोश व्यक्त भएको थियो।

त्यसबेला राष्ट्रपतीय निर्वाचनकी एकजना उम्मेदवार हिलरी क्लिन्टनले समेत औषधि कम्पनीहरुले गर्ने अतिशय मूल्य वृद्धिको समस्यासंग आफूले जुध्ने बताएकी थिइन्।

उतार चढाव

त्यसबेला देखि औषधि कम्पनीहरुको शेयरमा निकै उतार चढाव देखिएको विश्लेषकहरुले बताएका छन्।

गत नोभेम्बर महिनामा मार्टीन श्क्रेलीलाई कालोबायोस फार्मस्युटिकल्सको पनि प्रमुख कार्यकारी बनाइएको थियो।

एफबीआइको अनुसन्धान कम्तीमा पनि गत जेनुअरी महिना देखिको हो।

श्क्रेलीले सन् २०११ मा स्थापना गरेका रेट्रोफीन कम्पनीले गत अगस्टमा आफ्ना भूतपूर्व प्रमुखलाई कम्पनीको रकम हिनामिना गरेको अभियोगमा मुद्दा हालेको थियो।

उक्त कम्पनीका बोर्ड सदस्यहरुले सन् २०१४ को सेप्टेम्बरमा श्क्रेलीलाई प्रमुख कार्यकारीको पदबाट हटाएका थिए।