मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

  • 18 डिसेम्बर 2015

संविधान संशोधन विधेयक प्रति असहमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबार आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ।

प्रमुख दलहरुले मोर्चासँग सहमति जुटाउने प्रयासमा संविधान संशोधनमाथिको छलफल अर्को हप्ता मात्र थाल्ने निर्णय गरेपछि मोर्चाको त्यस्तो घोषणा आएको हो।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेताहरुले आफ्ना माग प्रति सरकार उदासिन रहेकाले जारी वार्ता प्रक्रिया औचित्यहीन बनेको आरोप लगाए।

सत्तारुढ दलहरुले चाँहि मोर्चासँग सहमति कायम गर्ने प्रयासका लागि नै संविधान संशोधन विधेयकहरु माथिको छलफल शुरु नगरिएको भन्दै वार्ता जारी राखिने जनाएका छन्।

आन्दोलन

मोर्चाका नेताहरुले संसदमा प्रस्तुत संविधान संशोधनको विधेयक आफुलाई मान्य नहुने भन्दै आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्।

वार्तामार्फत आफ्ना माग पूरा गर्न सरकार गम्भीर नभएकाले जारी वार्ता प्रकृया औचित्यहीन बन्न पुगेको उनीहरुले बताएका छन्।

आईतबारबाट शुरु हुने आन्दोलनका नयाँ कार्यक्रमहरुमा आफ्ना नेताहरुलाई परिचालन गर्ने निर्णय गरिएकाले अब काठमाण्डूमा सरकारसँग वार्ता नगर्ने तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए।

उनले भने, “संविधान संशोधन विधेयक प्रति असन्तुष्टी जनाउँदै हाम्रा साथीहरु काठमाण्डू छाडेर जिल्ला जिल्लामा गइसकेका छन् र हामी पनि जिल्ला तिर जाने हो, यदि सरकारलाई वार्ता गर्ने र संवादबाट समस्याको समाधान गर्ने इच्छा छ भने अब मधेशमा नै आउनुपर्छ।”

शुक्रबार घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरुमा संविधान संशोधन सम्बन्धी विधेयकका प्रतिहरु जलाउने, मसाल एवं लाठी जुलुसहरु गर्ने तथा तराईका जिल्लामा सरकारका मन्त्री तथा सरकारको समर्थनमा गरिने कार्यक्रमलाई बिथोल्नेलगायत छन्।

तर सीमा क्षेत्रमा जारी नाकाबन्दी तथा राजमार्ग केन्द्रित बन्द हड्तालबारे मोर्चाको निर्णय मौन रहेको छ।

सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले ती दुवै आन्दोलनका कार्यक्रम निरन्तर रहने बताए।

स्थगन

यसअघि सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलसँग बैठक गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको पुनर्निर्धारण र समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था संविधानमा सुनिश्चित गर्न प्रस्तुत गरिएको संशोधन विधेयकमाथिको छलफल पछि सार्ने निर्णय गरिन्।

उक्त बैठकमा सहभागी नेकपा एमालेका सचेतक गोकुल घर्तीले भने, “अलि सघन ढंगले मधेशी मोर्चासँग वार्ता गर्दा वहाँहरुको पनि संविधान संशोधन विधेयकमा समर्थन जुटाउन सकिने विश्वास शीर्ष नेताहरुले व्यक्त गर्नुभयो त्यही भएर पौष ८ गतेबाट विधेयकमाथि छलफल थाल्ने निचोड निकालिएको हो।”

सभामुख घर्तीले बिहीबार साँझ मधेशी मोर्चाका कतिपय नेताहरुलाई समेत भेटेको बताइएको छ।

आफ्नो असहमति रहेको संविधान संशोधनको विधेयकमाथिको छलफल शुरु नगरिएपछि मोर्चा आवद्ध दलका सांसदहरु शुक्रबारको संसद बैठकमा सहभागी भएका थिए।