अमेरिकाले 'सैन्य उत्तेजना' निम्त्याएको आरोप

  • 19 डिसेम्बर 2015

चीनले आफूले दावी गर्दै आएको साउथ चाइना सीस्थित टापुमाथि बमवर्षक विमानहरु उडाएर अमेरिका गम्भीर सैन्य उत्तेजनामा संलग्न भएको आरोप लगाएको छ।

अमेरिकाले भने गत साता भएको उक्त घटनाबारे आफूले छानबीन गरिरहेको जनाएको छ।

शनिबार चीनको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकाल्दै अमेरिकाले जानीजानी उक्त विवादास्पद टापु क्षेत्रमा बमवर्षक विमान उडाएर तनाव ल्याउन खोजेको आरोप लगाएको हो।

तनाव

वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा विवरणमा त्यहाँ दुईवटा बी-५२ विमान एउटा अभियानमा रहेको र त्यो मध्ये एउटा खराब मौसमका कारण कुनै नियत विना नै विवादस्पद स्प्राट्ली टापुको दुई नटिकल माइल क्षेत्रभित्र उडेको जनाइएको छ।

चीनले उक्त घटनाले गम्भीर सैन्य उत्तेजना ल्याएको र साउथ चाइना सीको विषय थप जटिल बनाउनुका अतिरिक्त उक्त क्षेत्रमा सैन्यकरणको अवस्था उत्पन्न गराएको बताएको छ।

उसले यस्ता खाले घटना हुन नदिन उपायहरु अपनाउन अमेरिकालाई आग्रह गरेको छ।

अमेरिकाले उक्त विवादास्पद क्षेत्रमाथिको दावीसम्बन्धमा कसैको पनि पक्ष लिएको छैन, तर समुद्र मार्ग प्रयोगसम्बन्धी स्वतन्त्रतामाथि जोड दिँदै आएको छ।

साउथ चाइना सीको ठूलो भूभागमाथिको दावीलाई लिएर चीन र उसका कतिपय छिमेकीबीच तनाव रहंदै आएको छ।