थप आन्दोलन घोषणासँगै तराईमा तनाव

  • 19 डिसेम्बर 2015

असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन चर्काउने घोषणा गरेको भोलिपल्ट शनिबार तराईका केही स्थान तनावग्रस्त भएका छन्।

रौतहटको गौर, पर्साको वीरगञ्जलगायतका स्थानमा भएको झडपमा कैयौं सुरक्षाकर्मी र प्रदर्शनकारीहरु घाइते भएको दुबै पक्षले बताएका छन्।

मध्य र पूर्वी तराईका अन्य जिल्लाहरुमा पनि प्रदर्शन भएको छ।

तनाव

रौतहट जिल्ला सदरमुकाम गौरको बीपी चोकमा सडक अवरुद्धगरि प्रदर्शन गरिरहेकाहरु मध्ये एकजनालाइ प्रहरीले पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको प्रत्यक्षदर्शीहरुले जनाए।

प्रमुख जिल्ला अधिकारी नरहरि बरालले पक्राउ गरिएको छात्रलाइ छाडिसकेको जनाउँदै प्रहरीको संयमताले ठूलो घटना नभएको बताए।

उनले भने, "आन्दोलनकारीतर्फ कुनै त्यस्तो क्षति भएको छैन, बरु प्रहरीले चाहिँ आफू संयम भएर आफूले चोट खाएर भए पनि स्थिति नियन्त्रणमा लिए। धेरै ठूलो नोक्सान हुनसक्थ्यो। २० फायर अश्रुग्यास भयो र हवाई फायर ७ राउण्डजति भयो होला।"

तर प्रदर्शनकारीहरु मध्येका संघीय समाजवादी विद्यार्थी फोरम रौतहटका अध्यक्ष प्रकाश भाइले शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले अचानक बल प्रयोग गरेको जनाए।

उनले भने, "हामीले आन्दोलन शान्तिपूर्ण गरेको हो। प्रशासनले त्यसमा लगभग १०० राउण्ड भन्दा पनि बढी अश्रुग्यास छोडेको थियो। प्रशासनले हामीमाथि आक्रमण गरेको हो। हामीले ढुंगामुढा गरेको होइन।"

झडप

अबेर साँझ सम्म प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।दुबै तर्फगरि २४ जना जति समान्य घाइते भएको बताइएको छ।

वीरगञ्जमा पनि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको थियो।

नारावाजी गर्दै बजार बन्द गराइरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले रोक्ने प्रयासगर्दा झडप भएको थियो।

घण्टाघर क्षेत्रमा भएको झडपमा प्रहरीले एक राउण्ड अश्रुग्यास चलाएका थिए।

ढुंगा हानाहान र लाठीचार्जबाट दुबै पक्षगरी ५ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

शनिबार नै बिराटनगरको नाकामा पनि आन्दोलनकारीहरुले सभा गरेका छन्।

त्यस्तै मध्य तराइको अन्य जिल्लाहरुमा पनि प्रदर्शन भएकाे हाम्रा संवाददाताले जनाएका छन्।