ब्रजिलः दुई खानी कम्पनीको सम्पत्ति रोका

  • 20 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption बाढीका कारण बेन्टो रोड्रिगुज गाउँ पूरै ध्वस्त भएको थियो भने धेरै शहरमा बाढी पसेको थियो

ब्रजिलका एकजना संघीय न्यायाधीशले दुई ठूला खानी कम्पनीहरु बीएचपी बिल्लीटन र भालेको सम्पत्ति रोका गरेका छन्।

कैयौँको ज्यान जानेगरी गत महिना मिन्ह्ज जुराइसमा बाँध भत्किएको घटनालाई लिएर न्यायाधीशले सम्पत्ति रोका गर्ने आदेश दिएका हुन।

फलाम खानीबाट निस्किने फोहोर पानी जम्मा गर्नका निम्ति उक्त बाँध बनाइएको थियो।

तर गत महिना उक्त बाँध भत्किएर आएको ठूलो बाढीमा १३ जनाको ज्यान गएको थियो।

क्षतिपूर्ति

संघीय न्यायाधीशले आफ्नो आदेशमा बीएचपी बिल्लीटन र भालेको संयुक्त लगानी रहेको कम्पनी समार्कोसँग क्षतिपूर्ति दिनका निम्ति स्रोत नभएको बताएका छन्।

क्षतिपूर्तिको रकम अब माउ कम्पनीबाट लिनुपर्ने हुन्छ।

ब्रजिल सरकारले पीडितहरुलाई क्षतिपूर्ति र सफाइ कार्यका निम्ति ५ अर्ब २० करोड डलर माग दाबी गरेको छ।

बाँध भत्किएर आएको बाढीका कारण बेन्टो रोड्रिगुज गाउँ पूरै ध्वस्त भएको थियो भने धेरै शहरमा बाढी पसेको थियो र ठूलो क्षेत्र विषाक्त हिलोले प्रदूषित बनेको थियो।

निलम्बन

ब्रजिलका वातावरणमन्त्रीले उक्त दुर्घटना प्राकृतिक विपत्ति नभई आर्थिक गतिविधिका कारण भएकोले क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन्।

बीएचपी बिल्लीटन र भालेले अदालतको आदेशबारे औपचारिक रुपमा आफूहरुलाई जानकारी नगराइएको बताएका छन्।

न्यायाधीशको आदेश चाहिँ शुक्रबार प्रकाशित गरिसकिएको छ।f

नोभेम्बर ५ तारिखमा भएको दुर्घटनाको एक साता नबित्दै समार्कोको अनुमति निलम्बन गरिएको थियो।