‘चीन भ्रमण आर्थिक मुद्दामा केन्द्रित’

  • 23 डिसेम्बर 2015
chinese fm तस्वीर कपीराइट AFP
Image caption चीन भ्रमणको दोस्रो दिन चिनियां विदेशमन्त्री वाङ्ग इ नेतृत्वको टोलीसंग नेपाली टोलीको छलफल हुने बताइएको छ

उपप्रधान तथा परराष्ट्रमन्त्री, कानूनमन्त्री, विभिन्न मन्त्रालय उच्चअधिकारीहरुसहितको सरकारी टोली करिब एक साता लामो चीन भ्रमणका लागि बुधबार बेइजिंग जांदैछ।

पूर्व घोषित एउटा अनुदान सहायतासम्बन्धी सम्झौताबाहेक अन्यमा हस्ताक्षर हुने,नहुने अन्योल भएपनि इन्धनको व्यापारिक खरिद, दुईपक्षीय खुला व्यापार जस्ता महत्वपूर्ण विषयसंग सम्बन्धित सम्झौता-प्रस्तावबारे छलफलहरु केन्द्रित हुने अधिकारीहरुले बताएका छन्।

चाख

भारतसंगको सीमा नाकाहरुमा अवरोधपछि इन्धन लगायतका अत्यावश्यक वस्तुहरुको चरम अभाव देखिएका बेला अर्को छिमेकी चीनतिर हुन लागेको यो उच्चस्तरीय दौडाहालाई धेरैले चाखपूर्वक हेरेका छन्।

तर, केही महिनाअघि तात्कालीन राष्ट्रपति रामवरण यादवको चीन भ्रमणका बेला बेइजिंगद्वारा घोषित झण्डै साढे १५ अर्ब रुपैयांको अनुदान सहायतालाई औपचारिकता दिनेबाहेक अन्य सम्झौतामा हस्ताक्षर हुनेबारे प्रष्ट भइनसकेको अधिकारीहरु बताउंछन्।

यद्यपि व्यापारिक रुपमा इन्धन खरिद लगायतका विभिन्न आर्थिक मुद्दाहरुमा दुईपक्षीय छलफल केन्द्रित हुने संकेत गर्दै भ्रमण टोली नेता, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भने, “चीन र नेपाल दुवैलाई फाइदा हुने गरी आर्थिक सम्बन्धको खाका तयार पार्ने विषयमा सैद्धान्तिक कुरा हुनेछ। एउटा दीर्घकालीन खाका तयार पार्ने मेरो उद्देश्य छ”।

महत्वपूर्ण

तस्वीर कपीराइट niranjan poudel
Image caption केरुंग वा तातोपानी नाकाबाट इन्धन भित्र्याउने र नेपालभित्र थप तेल भण्डारणस्थल बनाउनेबारे पनि कुरा हुने बताइएको छ

परराष्ट्रका अधिकारीहरुका अनुसार, व्यापारिक रुपमा इन्धन खरिदका लागि अवरोधको रुपमा हेरिएको कर छुट तथा सीमा विन्दु छनौट र चीनको सहयोगमा तेल भण्डारणस्थल बनाउने लगायतका विषय उच्चस्तरीय भेटहरुमा टुंग्याउने प्रयास हुनेछ।

यसैगरी खुला व्यापार सम्झौता गर्न नेपाल तयार रहेको आशय जनाउने तयारी भइरहेको उल्लेख गर्दै परराष्ट्रका प्रवक्ता तारा पोख्रेलले भने, “खुला व्यापार सम्झौतामा कुरा अघि बढ्न सक्ने देखिन्छ किनभने व्यापार, पारवाहन नेपाल र चीनबीचका महत्वपूर्ण मुद्दा हुन्”।

कानूनमन्त्री, परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालयका सचिवसमेत सम्मिलित १० सदस्यीय नेपाली टोलीले यसअघि नै बेइजिंगमा प्रस्ताव पठाइसकिएको दुईपक्षीय व्यापार संरक्षण तथा प्रवर्द्धन सम्झौता अर्थात् बिप्पाको खाका र पारवाहन सम्झौताबारे पनि कुराकानी गर्ने अधिकारीहरुले बताएका छन्।

साताव्यापी चीन बसाइमा नेपाली टोलीले चिनियां राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एक जना र विदेशमन्त्री लगायतका अन्य नेताहरुसंग भेट गर्ने तय भएको जनाइएको छ।