'हेलमाण्डको मुख्य भाग लगभग तालेवान नियन्त्रणमा'

  • 23 डिसेम्बर 2015

दक्षिणी अफगानिस्तानबाट प्राप्त पछिल्लो विवरणहरु अनुसार त्यहांको हेलमाण्ड प्रान्तको एउटा महत्वपूर्ण इलाका लगभग पूर्ण रुपमा तालेवान नियन्त्रणमा गएको छ।

संगीन जिल्लाका एकजना सभासदले बीबीसीलाई बताएअनुसार त्यहांको मुख्य प्रहरी आधार अखाडा र जिल्ला मुख्यालय भवनमा बुधबार तालेवान लडाकुहरुले कब्जा जमाएका छन्।

त्यहांका केही सय सुरक्षा सैन्यले नजीकैको सैनिक ब्यारेकमा शरण लिइरहेका छन्।

संघर्ष

अफगान सरकारी सैन्यले दिनभरिको भीषण संघर्षपछि हेलमाण्ड प्रान्तको केन्द्रमा रहेको संगीन क्षेत्रको नियन्त्रण गुमाएका विवरणहरु प्राप्त भएका छन्।

प्रत्यक्षदर्शीहरुले बीबीसीलाई बताए अनुसार त्यहांको जिल्ला मुख्यालय र प्रहरी चौकीलाई तालेवानहरुले नियन्त्रणमा लिएका छन्।

तालेवानले भने तिनका लडाकुहरुले समग्र जिल्लालाई नै कब्जामा लिएका दावी गरेका छन्।

तस्वीर कपीराइट AFP

तर अफगान रक्षा मन्त्रालयले त्यहां लडाईं जारी रहेको र त्यस तर्फ थप सैनिक मदत पठाइएको जनाएको छ।

बन्द

प्रत्यक्षदर्शीहरुका अनुसार उक्त इलाकाको मध्य भागमा रहेका अफगान सुरक्षा सैन्यहरुले लडाईं गरिरहेका छन्, तर तिनीहरुसम्म थप मद्दत पुग्ने सबै बाटोहरु बन्द भएका छन्।

हेल्माण्ड प्रान्त तालेवान विद्रोहको एउटा मुख्य केन्द्रको रुपमा रहंदै आएको छ जहां अफीम कारोबारका मुख्य मार्गहरु अवस्थित छन्।

पाकिस्तानसंग उक्त प्रान्तको भौगोलिक निकटताले पनि त्यस क्षेत्रलाई विस्तारित रणनीतिक महत्व प्रदान गर्दछ।

भीषण द्वन्द जारी रहँदा त्यहांका वासिन्दाहरुले सो शहर छोडिरहेका छन्।

द्वन्द्व

तस्वीर कपीराइट MoD

बीबीसीका सुरक्षा संवाददाता जोनथन मार्कसले संगीनमा जारी द्वन्दलाई हेल्माण्ड प्रदेशको नियन्त्रणको लागि भइरहेको ठूलो द्वन्द्वको हिस्सा भनेका छन्।

गत वर्ष नेटोका धेरैजसो सैनिकहरु अफगानिस्तानबाट बाहिरिनु भन्दा अगाडि सो क्षेत्र अफगानिस्तानभित्र नेटोका केन्द्रहरु मध्ये एक थियो।

संगीन जिल्ला धेरैपटक तालेवानको नियन्त्रणमा आइसकेको छ र त्यहाँको द्वन्द्वले अफगान तथा अन्तर्राष्ट्रिय सैनिकहरु तर्फ धेरै मानवीय क्षति पुराइसकेको छ।