बोको हरामलाई जित्नै लागियो: राष्ट्रपति बुहारी

  • 24 डिसेम्बर 2015
तस्वीर कपीराइट Nigeria Senate
Image caption राष्ट्रपति बुहारीले चुनावी दौडमा बोको हराम २०१५ भित्र परास्त पार्ने बताएका थिए

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले इस्लामवादी समुह बोको हराम विरुद्ध उनको सेना जितको नजिक रहेको बीबीसीलाई बताएका छन्।

बोको हराम उनीहरुको मुख्य गढ बोर्नोमा सीमित रहेको उनको भनाई छ।

राष्ट्रपति बुहारी भन्छन् -"उनीहरुले यस अघि गर्दै आए झैं सरकारी फौज या आम सर्वसाधारणको केन्द्र जस्ता ठाउँमा आक्रमण गर्न नसक्ने स्थितिमा पुगेका छन्। प्राविधिक रुपमा हामीले युद्ध जितेका छौं।"

राष्ट्रपतिले यो महिनाको अन्त्यसम्ममा बोको हरामलाई परास्त पार्न सेनालाई भनेका छन्।

विनाश

बोको हरामले शुरु गरेको छ वर्ष लामो द्वन्द्वमा उत्तरपूर्वी नाइजेरिया ठूलो विनाश भएको छ।

राजधानी अबुजामा रहेका बीबीसीका बशीर साद अब्दुल्लाही भन्छ्न्- राष्ट्रपतिले समयसीमा पछाडि सार्नुपर्नेछ किनभने बोको हराम लडाकुहरुले उनीहरुको नियन्त्रण भएका क्षेत्रहरुमा अझपनि बम विष्फोट गराईरहेका छन्।

द्वन्द्वमा १७ हजार मारिएको र बीस लाख जति मानिस विस्थापित भएको ठानिन्छ।

तस्वीर कपीराइट
Image caption राष्ट्रपति बुहारीले बोको हराम परास्त पार्न त्यहाँको सेनालाई यहि महिनाको समयसीमा दिएका छन्

राष्ट्रपति बुहारी भन्छन्- जिहादीहरु विरुद्धको सैन्य कारवाहीका कारण उनीहरु आत्मघाती बममा सीमित हुन पुगेका छन्।

तर बोको हरामले गत दुइ महिनामा मात्रै सय भन्दा बढी आक्रमण गरेको र एक हजार भन्दा बढी मानिस मारेको खबर छ।