मोदी र शरीफबीच पाकिस्तानमा भेटवार्ता

  • 25 डिसेम्बर 2015
तस्वीर कपीराइट MEAIndia

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आकस्मिक भ्रमण गरेर त्यहां आफ्ना समकक्षी नवाज शरीफसंग भेटवार्ता गरेका छन्।

यो प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो पाकिस्तान भ्रमण हो।

कुनै पनि भारतीय प्रधानमन्त्रीले गत दश बर्षभन्दा बढी समयमा पाकिस्तानको भ्रमण गरेको पनि यो पहिलो अवसर हो।

पाकिस्तानको लाहोर शहरबाहिर अवस्थित प्रधानमन्त्री शरीफको निजी निवासमा दुई घण्टाभन्दा बढी समय विताएर प्रधानमन्त्री मोदी स्वदेश फर्केका छन्।

अकस्मात

दुवै प्रधानमन्त्रीबीच भएको वार्ताका बारे कुनै पनि पक्षले बक्तव्य जारी गरेको छैन।

तस्वीर कपीराइट EPA

त्यसअघि सामाजिक संजालको वेबसाइट ट्वीटर मार्फत आफ्नो अकस्मात पाकिस्तान भ्रमणको जानकारी दिंदै उनले आफ्ना समकक्षी नवाज शरिफसंग लाहोरमा भेट गर्ने बताएका थिए।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको भ्रमण पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफको जन्मदिनको बेला हुन पुगको छ।

लाहोरको अल्लामा इकबाल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदी अवतरण गरेपछि दुवै नेताले अंकमाल गरेका थिए।

त्यसपछि उनीहरु नजिकै रहेको प्रधानमन्त्री शरिफको निवास परिसर तर्फ लागेका थिए।

प्रयास

भारतका प्रधानमन्त्रीको पाकिस्तान भ्रमणलाई ति दुई परमाणु अस्त्र सम्पन्न छिमेकीहरुबीच शान्तिवार्ता पुन: आरम्भ गर्ने पछिल्लो प्रयासका रुपमा हेरिएको छ।

तस्वीर कपीराइट MEAIndia

प्रधानमन्त्री मोदी अफगानिस्तानको भ्रमणपछि स्वदेश फर्कंदै थिए। उनले अफगानिस्तानमा त्यहांको नयां संसद भवनको उद्घाटन गरेका थिए।

ति दुवै नेताबीच गत महिना प्यारिसम भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनका बेला संक्षिप्त भेटघाट भएको थियो।

सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्र भएयता ति दुवै देशबीच तीन पटक युद्ध भैसकेको छ, जस्मध्ये दुईवटा त विवादीत काश्मिरको विषयलाई लिएर थियो।

भारत र पाकिस्तानबीच सन् २००३ मा युद्धविराम सहमति भएको थियो, तर दुवै पक्षले त्यो उलंघन गरेको भनी एकअर्कालाई आरोप लगाउने गर्छन्।

एकजना प्रतिष्ठीत पाकिस्तानी पत्रकारले बीबीसीसंग कुरा गर्दै पाकिस्तानी सेनाले भारतीय प्रधानमन्त्रीले चालेका अकस्मातको कुटनीतिक पहलप्रति कस्तो प्रतिक्रिया जनाउला भनेर चासो व्यक्त गरेका छन्।