प्राधिकरणमा नयाँ सिइओ

  • 25 डिसेम्बर 2015
अस्थायी आवास तस्वीर कपीराइट prem baniya
Image caption भूकम्पपछि हजारौं परिवारले अस्थायी टहरामा जीवन गुजारा गरिरहेका छन्

सरकारले बहु-प्रतिक्षित पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ।

पेशाले इन्जिनियर तथा शहरी योजनाकार ज्ञवालीलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जिम्मेवारी दिएको हो।

सिइओमा विभिन्न चर्चित व्यक्तिहरु आउने अनुमानहरुका माझ उनी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बन्न पुगेका छन्।

जिम्मेवारी

उनले आफ्नो २० वर्ष लामो अनुभव भूकम्प प्रभावितहरु र अन्य विभिन्न निकायहरुसँगको सहकार्यमा आफूले पाएको जिम्मेवारी निर्वाह गर्ने बीबीसीसँगको कुराकानीमा बताए।

भूकम्प गएको आठ महिना पछि सरकारले सो नियुक्ति गरेको हो।

यसअघिको सरकारले डा गोविन्दराज पोखरेललाई पुनर्निर्माण प्राधिकरणको सिइओ नियुक्त गरेको भएतापनि प्राधिकरण गठन संबन्धी अध्यादेश संसदबाट समयमै पारित नभएका कारण उनले पद गुमेको थियो।

भूकम्प पीडित लाखौं पीडितहरुले जाडोमा अत्यन्त कष्टका साथ गुजारा गरिरहेका बेला नियुक्त‌ि पाएका प्रमुख कार्यकारीको कार्यकाल निकै चुनौतीपूर्ण हुने धेरैको आँकलन छ।

मन्त्रालय थपिए

बिहीबार दुईवटा मन्त्रालय थपेको सरकारले शुक्रबार फेरि दुईवटा मन्त्रालय थपेको छ।

दुईवटा मन्त्रालय थपेर नयाँ मन्त्रालय बनाइएका हुन्।

२०१६ सालको राजनीतिक परिवर्तन पछि गठन भएको प्रशासन सुधार आयोग र पछिल्लो उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिले दिएको सुझाव विपरीत सरकारले त्यस्तो निर्णय गरेको छ।

प्रशासनविद् काशिराज दाहाल नेतृत्वको उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिले २०७० साल चैत्र २० गते बुझाएको प्रतिवेदनमा ‘मन्त्रालयको संख्या बढीमा १८ वटा कायम गर्ने र मुलुक सङ्घात्मक संरचनामा जाँदा प्रादेशिक सरकारको कार्यक्षेत्रको विस्तारले केन्द्रीय तहमा बढीमा १२ वटा मात्र मन्त्रालय कायम गर्नु उपयुक्त हुने’ उल्लेख छ।

त्यसअघि २०४८ साल चैत २३ गते सार्वजनिक गरिएको तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा रहेको प्रशासन सुधार आयोगको प्रतिवेदनले उसबेला रहेका २१ वटा मन्त्रालय घटाएर १८ बनाउन सुझाएको थियो।

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा सुमित्रा अमात्य, कामानन्द देव, विजयबहादुर कुँवर, गिताभक्त जोशी, चन्द्रकान्त पौडेल, सुनिलबाबु श्रेष्ठ र कृपासिन्धु प्रसादलाई नियुक्त गरेको छ।