सिरियाको कारबाहीमा विद्रोही नेता मारिए

  • 26 डिसेम्बर 2015
तस्वीर कपीराइट EPA
Image caption सिरियामा विद्रोही समुह लक्षित हवाई कारवाहीहरु हुँदै आएका छन्

सिरियाको शक्तिशाली विद्रोही समूहमध्येको एक जेश अल इस्लामका प्रमुख र अरु कैयौं नेताहरु दमास्कसको पूर्वी क्षेत्रमा गरिएको रुसी हवाई कारबाहीमा मारिएका छन्।

संस्थापक ४४ वर्षिय जहरुन अलुश र अरुहरु, बैठक भइरहेको स्थल रकेट निशानामा परेपछि, मारिएको विद्रोहीहरु र सिरियाली सेनाले जनाएका छन्।

बेरुतस्थित बीबीसी संवाददाता लीना सीन्जाबका अनुसार जेश अल इस्लामका नयाँ नेता अबु हुमाम पनि भनिने इसाम अल ब्वाइदानी बनेका छन्।

उनी शुक्रबार उनका नेता मारिएको क्षेत्रकै बासिन्दा हुन्।

विपक्षी

साउदी समर्थनप्राप्त यो इस्लामवादी समूह एउटा ठूलो समूह हो र पूर्वी क्षेत्रमा दबदबा राख्थ्यो।

यो समूह हालै रियादमा भएको विपक्षीहरुको शिखर सम्मेलनमा सहभागी भएको थियो जसले सरकारसँग गरिने शान्ति वार्ताको खाका तयार पारेको थियो।

साउदी लगानीको अल अरेबिया टेलिभिजनका अनुसार जेश अल इस्लामका कमाण्डरहरुको बैठक भइरहेका बेला दशवटा रकेट झरेका थिए।

अल अरेबियाका अनुसार समूहका उपनेता पनि मारिएका छन्।

कडा सन्देश

बीबीसी संवाददाता सीन्जाबको भनाइ छ- सिरियामा शान्ति स्थापनाबारे हालै संयुक्त राष्ट्रसंघले प्रस्ताव पारित गरेपछि भएको यो घटनाले रुसी र सिरियाली सरकारले कोसँग वार्ता गर्न चाहेका छन् भन्ने कडा सन्देश प्रकट भएको छ।

राष्ट्रपति असदको बलियो समर्थक रहेको रुसले विद्रोहीहरुको विभिन्न समूहलाई आतंकवादीको सूचीमा राखेका छन्।

जेश अल इस्लाम ती मध्ये एक थियो।

उसले तथाकथित इश्लामिक स्टेटलाई उक्त क्षेत्रबाट विस्थापित गर्न सफल भएको थियो।

विश्लेषकहरुले शुक्रबारको घटना विद्रोहीहरुका लागि गम्भीर धक्का र शुरुवाती चरणमा रहेको राजनीतिक समाधानप्रति खतरा उत्पन्न भएको बताएका छन्।