बाढीका कारण एक लाख बढी मानिस प्रभावित

  • 27 डिसेम्बर 2015
डुवान तस्वीर कपीराइट Getty
Image caption बाढीका कारण स्थानान्तरण गरिएका मानिसहरुले आफूहरुलाई खाने र बस्ने सुविधा नभएको बताएका छन्

दक्षिण अमेरिकाको अर्जेन्टिना र आसपासका क्षेत्रमा बाढी र डुवानका कारण एक लाख भन्दा बढी मानिसहरुलाई अन्यत्र सारिएको छ।

उत्तरपूर्वी अर्जेन्टिनाको सीमा क्षेत्रमा तीन प्रमुख नदीमा पानीको सतह अझै माथि जान सक्ने चिन्ता बढेको छ।

उरुग्वे नदीमा पानीको सतह ह्वात्तै बढेपछि सीमावर्ती कन्कोर्डिया शहरका थुप्रै मानिसहरुलाई अन्यत्र सारिएको हो।

उरुग्वे, पाराग्वे र पाराना नदीले घेरिएका अर्जेन्टिनाका कोरिएन्तेस् र एन्त्रे रियोस् क्षेत्रमा वर्षेनी बाढी आइरहन्छ।

विपद

तर गत साता तीन दिनसम्मको वर्षापछि ती नदीमा पानी आश्चर्यजनक ढंगले ह्वात्तै बढेपछि विपद सृजना भएको हो।

कन्कोर्डिया नगर क्षेत्रमा एक बाढी पीडितले भनिन्, “केहि त गर्नै पर्छ, किनभने यहाँ कन्कोर्डियामा मानिसहरु अस्थायी शिविरमा ल्याइएका छन्, यहाँ अटाउने ठाउँ पनि छैन, खानेकुरा पनि छैन, केहि पनि छैन।”

बाढीको खतरामाझ अर्जेन्टिना, पाराग्वे, उरुग्वे र ब्रजिलमा छरिएको सो क्षेत्रबाट एक-लाख-पचास-हजार मानिसहरुलाई अन्यत्र सारिसकिएको छ।

शुरुमा पाराग्वेमा मानिसहरु विस्थापित हुन पुगेका थिए भने अहिले अर्जेन्टिनामा डुबान बढिरहेको छ।

अधिकारीहरुका अनुसार कन्कोर्डिया नगर नजिकैको बाढी नियन्त्रण गर्ने एक बाँध नै डुब्नलागेको छ। यदि बाँध डुब्यो भने अरु दशौं हजारमानिसहरुलाई अन्यत्र सार्नुपर्ने अवस्था आउँने छ।

अहिल पानी पर्न रोकिएको छ तर अधिकारीहरु मौसमी अवस्थाको लगातार अनुगमन गरिरहेका छन्।