भूकम्प पीडितलाई जाडोले थपेको कष्ट

  • 27 डिसेम्बर 2015
Image caption भूकम्पपछि वर्षा गयो, हिउँद पनि कष्टकर हुने भयो भन्ने पीडितको गुनासो छ

कठ्याङ्ग्रिँदो जाडोमा अस्थायी शिविरमा कष्टकर जीवन बिताइरहेका भूकम्प पीडितलाई सहायता गर्न साधन स्रोतको अभाव रहेको भूकम्प प्रभावित जिल्लाका अधिकारीहरुले बताएका छन्।

चिसोका कारण बिरामी पर्ने सम्भावित जोखिममा रहेको इलाकाका स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको उनीहरुको भनाई छ।

बढ्दो जाडोका कारण हिमाली इलाकाका शिविरमा कठीन अवस्था रहेको र बालबालिका तथा बृद्धहरु उच्च जोखिममा देखिन्छन्।

गत बैशाख १२ को भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लाको बारपाक पुगेका पत्रकार प्रसन्न पोखरेल भन्छन् ,"माथिल्ला गाविसहरुमा बिरामीको संख्या वढ्दै गएको छ। भूकम्प पीडितहरु अझैपनि त्रिपालमुनी बसिरहेका देखिएका छन्। जीवन निकै कष्टकर भइसकेको छ।"

बेसहारा

सरकार आफूहरुको निम्ति सहारा बन्न नसकेको गुनासो भूकम्प पीडितहरुले गर्ने गरेका छन्।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल सरकारी काम कारवाही पनि प्रभावित भएको बताउँछन्।

उनी भन्छन्, "स्रोत साधन छैन। जनशक्ति छैन। भूकम्प सम्बन्धि छुट्टै कार्यालय खोलेर काम गर्नुपर्ने ठाँउमा तितर वितर भएर काम गरिरहेको अवस्था छ। तथापि भ्याएसम्म हामीले काम गरिरहेका छौं।"

अर्को भूकम्प प्रभावित हिमाली जिल्ला रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल भन्छन्, " यहाँ भएका तीनवटा स्वास्थ्य चौकीहरुलाई सजग रहन भनिसकेका छौं। गैर सरकारी संस्थाहरुलाई पनि बिरामीहरु छन् भने जिल्लामा हुन सक्नेलाई यतै र नभए रिफर गर्ने ब्यवस्था गरेका छौं।"

चिसोकै कारण सिन्धुपाल्चोकमा केही बालबालिकाको मृत्यु भएको र कैयौं बिरामी परेका समाचार सार्वजनिक भइसकेको छ।

उच्च जोखिम

त्यहाँ गरिएको सरकारी प्रयासबारे प्रमुख जिल्ला अधिकारी गोकर्ण दवाडी भन्छन्," सरकारले न्यानो कपडाको व्यवस्था गर्न प्रत्येक परिवारलाई १० हजार रुपिंया दिने ब्यवस्था गरेको छ। त्यो हामीले हरेक गाविसमा पठाइसकेका छौं।"

भूकम्प प्रभावित १४ जिल्लामा मात्र ११ लाख भन्दा बढि बालबालिका र बृद्धबृद्धा चिसोको उच्च जोखिममा रहेको केन्द्रीय बाल कल्याण समितिले औंल्याएको छ।

जाडोबाट बचाउन भन्दै सरकारले ल्याएका कतिपय कार्यक्रम कागजमै सीमित हुँदा आफूहरु थप समस्यामा परेको पीडितको गुनासो छ।