रमादी पुन: इराकी सेनाको कब्जामा

  • 28 डिसेम्बर 2015
रमादी तस्वीर कपीराइट AP
Image caption रमादी शहर नियन्त्रणमा लिएपनि इराकी सेनाले विविध अवरोधको सामना गरिरहेको बताइएको छ

इराकी सेनाले रमादी शहरमा इस्लामिक स्टेट विद्रोहीहरुको नियन्त्रणमा रहेको सरकारी भवनहरुको हातालाई पुन: आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

रमादी शहरलाई इस्लामिक स्टेट विद्रोहीले केही महिनायता आफ्नो एक प्रमुख अखडा बनाएका थिए।

एकजना सैनिक प्रवक्ताको भनाइमा रमादी शहरको उक्त पूर्व सरकारी हातामा अहिले सैनिकहरुले आफ्नो नियन्त्रण कायम गरेका छन् र त्यहाँ कोही पनि विद्रोही छैनन्।

तथापि शहरमा अझैपनि विद्रोहीहरुले अवरोध सृजना गर्न सक्ने उनले बताए।

इराकी सैन्य अधिकारीहरुले पछिलो करबाहीसंगै रमादी शहरको मध्य भागबाट इस्लामिक स्टेट विद्रोही पराजित भएको संकेत गरेका छन्।

संघर्ष

सरकारी फौजले हप्तौंअघिदेखि रमादी शहरलाई आफ्नो नियन्त्रणमा लिनका लागि संघर्ष गरिरहेको थियो।

बग्दादबाट ९० किलोमिटर पश्चिममा पर्ने रमादी एक सुन्नी बहुल शहर हो, जुन गत मे महिनामा आइएसको नियन्त्रणमा गएको थियो।

बग्दादस्थित बीबीसीका थोमस फेसी भन्छन्, “रमादीको सरकारी हातालाई नियन्त्रणमा लिनु महत्वपूर्ण कदम हो। तर इराकी सैनिकहरुको चिन्ता छ त्यस क्षेत्रमा विस्फोटक पदार्थहरु राखिएका हुन सक्छन्।”

सरकारी फौजले सो हाता नजिकैका वस्तीहरुमा सतर्क भएर कारवाही गरिरहेको छ र प्रतिरोधहरु हुन सक्ने ठानेको छ।

फेसी भन्छन्, “अधिकारीहरुले यसलाई सफलता मान्न सक्लान्। तर यो कारवाही गर्नको लागि महिनौं लामो कारबाही गरिएको थियो र गठवन्धन सेनासँग मिलेर हवाइ हमला समेत गरिएको थियो।”

प्रधानमन्त्री हैदर अल अबादीले भनेका छन् अब इराकी सेनाले छिट्टै उत्तरी शहर मोसुललाई नियन्त्रणमा लिनको लागि कारबाही थाल्नेछ।

तर त्यो काम निकै चुनौतीपूर्ण हुन सक्छ।