पुनर्निर्माणमा एआइआइबीको सहयोग खोजिने

  • 29 डिसेम्बर 2015
aiib तस्वीर कपीराइट Reuters
Image caption उर्जा, यातायात र पूर्वाधार विस्तारमा लगानी गर्ने लक्ष्य एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को छ। (फाइल तस्वीर)

चीनको नेतृत्वमा खडा गरिएको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)मार्फत भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माणमा लगानीका लागि प्रस्ताव राख्ने तयारी भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

संसदको सोमबारको बैठकले उक्त बैंकको विधानसम्बन्धी सम्झौता अनुमोदन गरेपछि नेपाल औपचारिक रुपमा सो बैंकको संस्थापक सदस्य बनेको छ।

खासगरी उर्जा, यातायात र पूर्वाधार विस्तारमा लगानी गर्ने उद्देश्य राखी स्थापना गरिएको एसियाली पूर्वाधार लगानी बैंकको सदस्यता नेपालले ६ महिना अगाडि लिएको थियो।

अवसर

सोमबार उक्त बैंकको विधान सम्झौतालाई संसदले स्वीकृत गरेपछि नेपालको लगानी क्षेत्रमा विकास सहयोगको नयाँ बाटो खुलेको बताइएको छ।

अर्को महिना चीनको राजधानी बेइजिङ्मा उक्त बैंकको उद्घाटनमा नेपालबाट अर्थमन्त्रीले सहभागिता जनाउने र सोही बेला नेपालले विशेषगरी भूकम्पपछिको पुनर्निर्माण तथा नवनिर्माणका कार्यक्रममा लगानी प्रस्ताव गर्नका लागि गृहकार्य भइरहेको अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले बताए।

उनले भने," हाम्रो आवश्यकता अनुसार हामी प्रस्ताव राख्नेछौं। त्यसको आधारमा भूकम्पपछिको पुनर्निर्माण नेपालको पूर्वाधार निर्माणको महत्वपूर्ण प्राथमिकताको कार्यसूची हो। त्यसैले क्षतिको पुनर्निर्माण र नवनिर्माणको लागि यो बैंकबाट लगानी जुटाउन हामी प्रयास गर्नेछौं ।"

यसबाट अन्य उत्पादनमूलक क्षेत्रमा समेत विकास सहयोग तथा लगानीका कार्यक्रम गर्न सकिने विश्वास अर्थ मन्त्रालयको छ।

फाइदा

चीन, भारत र नेपालमाझ आर्थिक गतिविधि बढाउनका लागि चाहिने पूर्व आवश्यकताका संरचना विकासका लागि उक्त बैंकबाट लगानी प्राप्त हुने सम्भावना रहेको पनि अर्थ सचिव रेग्मी बताउँछन्।

उनी भन्छन्," हामीले नेपालको उतरदेखि दक्षिणको सडक विस्तारको निर्माणको लागि यहाँबाट स्रोत जुटाउन सक्छौं।"

एसियाली विकास बैंक र विश्व बैंक जस्तो संस्थाबाट विकास सहायता र ऋण लिंदै आएको नेपालले अब एसियाली पूर्वाधार लगानी बैंकबाट समेत सहयोग लिन सक्ने सम्भावना थपिएको छ।

तर त्यसको ऋण सहायताका शर्त र ब्याज एडीबी र विश्व बैंकभन्दा कम वा बढी, कति हुने हो, त्यो भने तय भइनसकेको बताइएको छ।