संविधान प्रचार अभियान 'फितलो'

  • 30 डिसेम्बर 2015
तस्वीर कपीराइट prabhat jha
Image caption तराईका कतिपय क्षेत्रका आम जनताहरुले संविधानमा उनीहरुमाथि विभेद गरिएको भनि बुझेकाले विरोध भइरहेको बताइन्छ।

'जनताको संविधान जनताकै माझमा' भन्ने नारा सहित मंसिर २१ गते राजधानीबाट शुरु गरिएको संविधानको एक महिने प्रचार अभियान पहाडी क्षेत्रमा फाट्टफुट्ट संचालन गरिएपनि तराई क्षेत्रमा भने नगन्य वरावरको अवस्था देखिएको बताइएको छ।

संविधानलाई लिएर खासगरी तराई क्षेत्रमा देखिएको असन्तुष्टीलाई लक्षित गर्दै सरकारले मंसिरको अन्तिम साता प्रचार अभियान शुरु गरेको थियो।

तर सो अभियान गाँउमा त के कतिपय जिल्ला सदरमुकाममा पनि पुग्न नसकेको बताइएको छ।

स्थानीय बिकास मन्त्रालयले सम्वन्धित क्षेत्रका मन्त्री, सांसदहरु तथा स्थानीय राजनीतिक दलका नेतालाई बोलाएर सबै जिल्ला विकास समिति, नगरपालिका र गाविसहरुमा प्रचार कार्यक्रम गर्न निर्देशन दिएको थियो।

असन्तुष्टी

तर तराईकेन्द्रित दलको संविधानप्रतिको तीव्र असन्तुष्टीका कारण अपेक्षा अनुसार कार्यक्रम गर्न नसकिएको स्थानीय अधिकारीहरु बताउछन्।

नवलपरासीका स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेल भन्छन्," बन्दका कारण कार्यक्रम गाँउ, गाँउ सम्म जान सकेको छैन। जबकी गाँउका मानिसहरुले यसको विरोध गरिरहेका छन्।"

त्यसो त जहाँ जहाँ यी कार्यक्रमहरु संचालन गरिएपनि ती कार्यक्रमहरु खास प्रभावकारी हुन नसकेको र एक प्रकारले झारा टार्ने किसिमको भएको प्रतिक्रिया राजनीतिक दलहरुले गरेका छन्।

अप्रभावकारी

रुपन्देहीको प्रचार कार्यक्रममा सहभागी नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बाशी भन्छन् ,"जनतालाई संविधानबारे सूसुचित पार्न नै यो कार्यक्रम ल्याइएको हो। तर जिल्लामा आउंदाखेरी विशेषगरी तराई क्षेत्रमा जुन हिसाबले यो कार्यक्रम गर्नुपर्ने हो, भएको देखिंदैन। विशेषत तराईको दक्षिणी भेगको मान्छेहरु उपस्थित हुनुपर्ने थियो, त्यो उपस्थिति देखिएको छैन।"

एक महिनाकालागि भनि शुरु गरिएको यो अभियान पूरा हुन अब एक साता मात्र वाँकी छ।

तर अवस्था के छ भने कार्यक्रम संचालन गर्न भनि स्थानीय विकास मन्त्रालयले दुई, दुई पटक लिखित ताकेता गर्दापनि धेरै जिल्लाले यो कार्यक्रम गर्नै सकेका छैनन्।