पुनर्निर्माणको काम छिट्टै अघि बढ्ने: ज्ञवाली

  • 1 जनवरी 2016
तस्वीर कपीराइट prem baniya
Image caption पुनर्निर्माण प्राधिकरणले काम शुरु नगर्दा अझै हजारौं भूकम्प पीडितहरु अस्थायी शिविरमा बस्न वाध्य छन्

बहुप्रतिक्षित पुनर्निर्माण प्राधिकरणको प्रशासनिक काम आउँदो माघबाट शुरु हुने उक्त प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले बताएका छन्।

पुनर्निर्माणसम्बन्धी ऐन अनुसार प्रस्तावित तीनवटा समितिले पूर्णता नपाउँदा प्राधिकरणको कामले गति लिन नसकेको भन्ने चिन्ताहरु व्यक्त भइरहँदा उनको यस्तो धारणा आएको हो।

शुक्रबारसाँझ बसेको मन्त्रिपरिषद्ले पुनर्निर्माण प्राधिकरणको प्रशासनिक काम गर्ने कार्यकारी समितिलाई पूर्णता दिने अपेक्षा गरिए पनि त्यसो हुनसकेन।

अपूर्ण

विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम शुरु गर्न हालै संसदबाट पारित भएको पुनर्निर्माण ऐनले तीन वटा समितिले काम गर्ने प्रस्ताव गरे पनि अहिलेसम्म ती कुनै पनि समितिले पूर्णता पाएका छैनन्।

प्रधानमन्त्री अध्यक्ष हुने परामर्श समिति र निर्देशन समितिले पूर्णता पाउन राजनीतिक भागबन्डाले थप झन्झटिलो हुने अनुमान गरिएका बेला अहिलेसम्म चारजना विज्ञहरु तोक्न बाँकी कार्यकारी समितिले नै पनि पूर्णता पाउन सकेको छैन।

यो बीचमा आफूले कागजी कामहरु र अवधारणा बनाउने काम गरिरहेको बताउँदै प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको काम माघबाट शुरु हुने बताए।

उनले भने, "हामी छिट्टै कार्यान्वयनको अवधारणा, संगठन संरचना र कसरी अघि बढ्ने भन्नेबारे समग्र विषयलाई चाँडै नै अघि ल्याउने छौं। हामी कम्तीमा पनि पुष महिनाभित्रै एउटा संरचनाको तयारी गरेर माघ लाग्दा नलाग्दै कसरी अगाडि जान्छौं भन्ने विषय आइसक्छ भन्ने विश्वास दिलाउन चाहन्छु।"

खासगरी पुनर्निर्माणको काम गर्ने क्षेत्राधिकार रहेको प्राधिकरणलाई नीति तय गर्न निर्देशन समिति पनि उत्तिकै आवश्यक पर्छ।

चिन्ता

त्यसका लागि पनि प्राधिकरण ऐन अन्तर्गतका समितिलाई पूर्णता दिने विषयमा आफूले प्रधानमन्त्रीसँग कुरा गरेको उनले बताए।

उनले भने, "गाउँसम्मको संरचना र जनशक्तिको यकीन गर्ने काम पनि अघि बढाएका छौं। सबै टोली हुँदा जति सजिलो हुन्थ्यो, एक्लैचाहिँ गर्न केही समस्या नै छ। त्यो स्वभाविक रुपमै बुझ्न सकिन्छ। यद्यपि गति लिने कुरामा छिटो भन्दा छिटो मैले सरकारसँग पनि गरिरहेको छु।"

प्राधिकरणले काम शुरु गर्न नसक्दा दातृ निकायले सहयोग उपलब्ध गराउने प्रतिद्धता जनाएको ठूलो रकमको उपयोग गर्न नसकिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

यसैबीच पुनर्निर्माणमात्रै होइन सरकारले अहिलेसम्म भूकम्पपीडितलाई दिने भनेको न्यानो लुगा पनि कतिपय प्रभावित जिल्लामा पु-याउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको देखिन्छ।