विद्यालय पुनर्निर्माणको काम प्रारम्भिक चरणमा

  • 1 जनवरी 2016
Image caption विद्यार्थीहरु भत्केकै कोठामा पढ्दैछन् पुननिर्माणको प्रारम्भिक काम पनि शुरु भएको छैन

भूकम्प गएको आठ महिना बितिसकेपनि देशभरका सयौं विद्यालय पुनर्निर्माणको पर्खाईमा छन्।

नक्सा तयार रहेको शिक्षा मन्त्रालयको भनाई छ तर शहरी विकास मन्त्रालयले भनेको छ- शिक्षा मन्त्रालयले नक्सा स्वीकृतिका लागि पठाएकै छैन।

भूकम्पका कारण ५९ जिल्लाका ३१ हजार कक्षा कोठामा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्यांक छ।

त्यसको पुनर्निर्माणका लागि शिक्षा मन्त्रालयले ८४ वटा गैर सरकारी र निजी संघ संस्थालाई स्वीकृति दिइसकेको छ।

मापदण्ड

शहरी विकास मन्त्रालयबाट नक्सा स्वीकृत हुन नसक्दा निर्माण कार्य अगाडि बढ्न नसकेको शिक्षा विभागका अधिकारीहरुले बताएका छन्।

तर शहरी विकास मन्त्रालयका प्रवक्ता पदम कुमार मैनाली भन्छन्,"हामीले हाउजिङको मापदण्ड बनाएर सबै ठाउँमा पुर्याइसकेका छौं। विद्यालयको पनि स्वीकृती आवश्यक परेको भए हामीकहाँ आउनुपर्थ्यो। मेरो जानकारीमा आएसम्म नक्सा स्वीकृतिका लागि आएको छैन।"

देशभरका विद्यालय निर्माणमा एकरुपताका निम्ति तोकिएको मापदण्डमा विद्यालय भवन पुनर्निर्माण गर्नुपर्ने नियम सरकारले बनाएपछि शिक्षा मन्त्रालयले सात किसिमका नक्सा बनाएको छ।

खतरा

शिक्षा विभागका महानिर्देशक खगराज बराल भन्छन्," केही बनेको छ। केही बन्न बाँकी छ। जस्तै दुई कोठाको, एक कोठाको स्वीकृत भइसकेको छ। हाम्रो विभागबाट तयार भएपनि शहरी विकासबाट स्वीकृति लिन बाँकी छ ।"

विद्यालय पुनर्निर्माण पूरा गर्न तीन वर्षको समय दिइएको छ।

तर भूकम्प गएको आठ महिना हुँदा पनि प्रारम्भिक चरणमै काम अड्किँदा निर्माणमा रुचि देखाएका संस्थाहरु निराश हुन सक्ने खतरा देखिन्छ।