सउदीमा प्रमुख शिया धार्मिक नेतालाई मृत्युदण्ड

  • 2 जनवरी 2016
तस्वीर कपीराइट AP
Image caption निम्रका समर्थकहरुले उनले कहिल्यै हिंसाको वकालत नगरेको बताएका छन्

सउदी अरेबियाले त्यहाँका प्रमुख शियाका धार्मिक नेता निम्र अल निम्रलाई मृत्युदण्डको सजाय दिएको छ।

आन्तरिक मन्त्रीले भनेका छन्, आतंककारी अपराधको अभियोगमा मृत्यूदण्ड दिइएका उनी ४७ जना मानिसहरुमध्येका एक हुन्।

मृत्युदण्डका यी सजायहरु सउदी अरेबियाका विभिन्न १२ वटा ठाउँमा एकैपटक दिइएको थियो।

विरोध

मृत्युदण्ड पाउने मध्ये धेरैजसो विद्रोही अल कायदा समूहले सञ्चालन गरेको आक्रमणसँग सम्बन्धित थिए।

तर निम्र अल निम्र निकै फरक व्यक्तित्व हुन्।

उनी सउदीको अल्पसंख्यक समुदाय शियाका प्रमुख धार्मिक नेता थिए।

उनी सन् २०१२ को अस्थीर समयमा हिरासतमा राखिएका थिए।

उनी राजतन्त्रका कडा आलोचक थिए।

तर उनका समर्थकहरुले भने उनले कहिल्यै पनि हिंसाको वकालत नगरेको बताएका छन्।

निम्रलाई दिइएको मृत्यदण्डपछि सउदी अरेबियाका छिमेकी राष्ट्रहरुमा पनि विरोधका स्वरहरु सुनिएका छन्।

गल्ती

इरानले उक्त मृत्य'दण्डका लागि साउदी अरेबियाले ठूलो मुल्य चुकाउनुपर्ने बताएको छ।

सउदी अरेबिया सुन्नी समुदायको नेतृत्वमा छ भने ईरान शिया बाहुल्य भएको राष्ट्र हो।

इराक सरकारले साम्प्रदायिक लडाई भड्किन सक्ने प्रतिक्रिया दिएको छ भने लेबननको शिया परिषदले निम्रलाई सजाय दिएकोबारे निन्दा गर्दै उसले ठूलो गल्ती गरेको बताएको छ।

प्रहार

यस्तै बहराइनका प्रहरीहरुले निम्रको मृत्यूदण्डबाट आक्रोशित भएका आन्दोलनकारीहरुलाई अश्रुग्यांस प्रहार गरेका छन्।

सउदीका अधिकारीहरुले शियाहरुविरुद्ध भेदभाव गरिएको भन्ने इरानको आरोपमा असहमति जनाएका छन्।

सउदी अरेबियाले पछिल्लो वर्षमात्रै १ सय ५० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको थियो, जुन एउटा मानवअधिकार समूहले निकालेको तथ्यांकअनुसार २० वर्ष यताकै सबैभन्दा बढी हो।