'मोर्चा आश्वस्त पार्ने उपायको खोजी'

  • 2 जनवरी 2016
तस्वीर कपीराइट bbc
Image caption असन्तुष्ट मोर्चाले आइतबार बुटवलमा आमसभा गरेपछि थप आन्दोलनका कार्यक्रमको घोषणा गर्ने बताएको छ

चार महिनाभन्दा लामो समयदेखि तराईका कतिपय ठाउँमा जारी आन्दोलनले जनजीवन कष्टकर भइरहँदा सत्ता पक्ष प्रदेश सीमांकन परिमार्जन हुनेमा मधेसी मोर्चालाई आश्वस्त बनाउने उपायको खोजीमा छ।

त्यसो गर्न सके मोर्चासँग सहमति हुने उसको आशा छ।

मोर्चाले पनि वार्ताबाटै समाधानको खोजी आफूहरुको उद्देश्य रहेको बताउँदै प्रमुख तीन दललाई आफ्ना मागहरुबारे उनीहरुको प्रष्ट धारणा लिएर आउन आग्रह गरेको छ।

विश्वास

प्रमुख तीन दल र असन्तुष्ट मधेशी मोर्चाबीच सहमतिको विन्दू पहिल्याउन भित्री प्रयास जारी रहेको बताइए पनि उनीहरु त्यसलाई औपचारिक वार्तामा प्रस्तुत गर्ने अवस्थामा पुगिसकेको देखिन्न।

अनौपचारिक भनिएका वार्ताहरुमा पनि मोर्चाले आफ्नो माग सम्बोधन गर्न प्रमुख दलहरु तयार नभएको आरोप लगाउँदै आएको छ।

अन्य विषयमा सहमतिको विन्दू भेटन सकिने भन्दै आएका दलहरुबीच अहिले प्रदेश सीमाङ्कनको पुनरावलोकन कति समयभित्र गर्ने भन्ने विषयमा मतभेद तीव्र देखिन्छ।

प्रमुख दलका कतिपय नेताहरु अहिलेको सीमांकन परिवर्तन हुने निश्चित भएमा मोर्चाले तीन महिनाको समयावधि मान्ने विश्वासमा छन्।

त्यस्तै विश्वासबारे बोल्दै एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, "परिवर्तन चाहिँ सीमांकनमा निश्चित हुन्छ भन्ने कुरा गरेर गृहकार्य गरौं। अनि तीन महिनापछि राजनीतिक पार्टीहरुको बीचमा जे सहमति हुन्छ त्यसलाई वैधानिक ढंगले कार्यान्वयन गर्ने प्रक्रियालाई सुनिश्चितता गरिन्छ भने उहाँहरु लचकतासाथ समझदारीमा आउने हामी देख्छौं।"

उनले यस्तो बताइरहँदा सरकारले पनि सीमा अवरोधका कारण सर्वसाधारणले निकै सकस भोगिरहेको भन्दै मोर्चाका माग सम्बोधन गर्न छिट्टै निर्णायक वार्ता गर्ने बताएको छ।

सरकारका प्रवक्ता तथा सूचना मन्त्री शेरधन राईले भने, "तत्काल चाहिँ औपचारिक वार्ताको लागि तिथिमिति गर्ने हिसाबले सरकारले आवश्यक गृहकार्यहरु गरिरहेको छ।"

समाधानको बाटो

तर सरकार र सत्तापक्षले यस्तो बताइरहँदा असन्तुष्ट मधेशी मोर्चाले भने सरकार र प्रमुख दलहरुले आफ्ना मागलाई गम्भीर रुपमा नलिएको भन्दै सीमांकन र संसदमा विचाराधीन विधेयकमा बसेरै मात्रै टुंगो लाग्ने बताएको छ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वार्ता टोलीका सदस्य लालबाबु राउतले भने, "मधेशको मुद्दालाई समाधान गर्नुछ भने निश्चित रुपमा यी तीन ठूला दल एउटा निर्णय लिएर अगाडि बढोस् यो नै समस्याको समाधान हुनसक्छ। यो किन एक महिना, किन दुई महिना किन तीन महिना भनिरहनु? वार्ताको टेबलमा बसौं न।"

मोर्चाले आइतबारसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

भावी कार्यक्रमबारे बैठक गरेर टुंगो लगाउने उसको योजना छ।

त्यसअघि नै सहमति भए आन्दोलनको पीडाबाट मुक्ति पाउने धेरैको आशा थियो। तर नेताहरुको कुरा सुन्दा तत्काल आन्दोलन अन्त्य हुने गरी सहमतिको वातावरण बनिसकेको जस्तो देखिन्न।