सहमति पहिल्याउन कार्यदल बनाउने प्रस्ताव

  • 3 जनवरी 2016
तस्वीर कपीराइट bbc
Image caption असन्तुष्ट मधेशी मोर्चाको ११ बुँदे मागलाई सम्बोधन गर्न भन्दै प्रमुख तीन दलले प्रस्तुत गरेको ३ बुँदे प्रस्ताव मोर्चाले अस्वीकार गरेको थियो

प्रमुख तीन दल र लोकतान्त्रिक मधेशी मोर्चाबीच आईतबार भएको वार्ता पनि बिना निस्कर्ष टुंगिएको छ।

वार्तामा मोर्चाले राखेको ११ बुँदे मागबारे स्पष्ट धारणा आउनुपर्ने माग मोर्चाका नेताहरुले गरेका थिए।

उक्त ११ बुँदामा छलफल गर्न तीन दलले एउटा कार्यदलको प्रस्ताव गरे पनि मोर्चाले सहमति नजनाएको बताइएको छ।

विमति

सरकारले आफूहरुले उठाएका विषय सम्बोधन गर्नेबारे ठोस प्रस्तावसहित उपस्थित भएमात्रै वार्तामा बस्ने बताउदै आएका मोर्चाका नेताहरु, मोर्चाकै १ घटक सदभावना पार्टीका नेता बिनै वार्ताका लागि आइतबार साँज बालुवाटार पुगेका थिए।

वार्ताका क्रममा मोर्चाका नेताहरु सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुले पालो पालो आफ्ना धारणा राखेका थिए।

तीनदलका नेताहरुले अन्य विषयलाई संविधानमा संशोधन गरेर हल गर्ने र प्रदेशको संयन्त्रमार्फत् सीमांकन तीनमहिनाभित्र टुंगो लगाउने प्रस्ताव गरेको तर मोर्चा उक्त प्रस्तावमा सहमत नभएको बताइएको छ।

११ बुँदे आफ्नो मागहरुमा तीनदलका तर्फबाट बुँदागत धारणा आउनुपर्ने माग मोर्चाका वार्ता टोलिका सदस्यले गरेपछि त्यसबारे छलफल गर्न एउटा कार्यदलको प्रस्ताव गरेको प्रधानमन्त्रीका प्रेश सल्लाहकार प्रमोद दाहालले बताए।

उनले भने "कार्यदलका लागि प्रमुख तीन दलका तर्फबाट ३ जनाको नाम टुंगो लगाइए पनि मोर्चाका तर्फबाट कार्यदलमा सदस्य रहने दुईजनाको टुंगो लागेको छैन। उहाँहरुले मोर्चामा छलफल गरेर खवर गर्छौ भन्नु भएको छ।"

तर मोर्चाका नेताहरुले भने तीन दलले प्रस्ताव गरेको कार्यदल आवश्यक नरहेको धारणा राखेका छन्।

वार्तामा सहभागी तराई मधेश सदभावना पार्टीका सहअध्यक्ष रामनरेश रायले भने, "तीन दलले कार्यदलको प्रस्ताव गरेको भए पनि हामीले वार्ता टोली पहिल्यैदेखि छ त्यसै मार्फत् छलफल गरे हुन्छ भनेका छौं।"

अस्वीकार

हाल संविधानमा व्यवस्था गरिएको प्रदेशको सीमांकनलाई परिवर्तन गरिनुपर्नेलगायतका मागहरु राख्दै मोर्चासँग आवद्ध दलहरुले करिव ४ महिना देखि आन्दोलन गर्दै आएका छन्।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचार लागि दिल्ली गएका छन् भने राजधानीमै रहेका नेताहरु वार्ताको खवर पाएर पनि नगएका हुन्।

आईतबार नै मोर्चाको मागहरु सम्बोधन गर्ने विषयमा तीन ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीचमा वार्ता भएको थियो।

आईतबार विराटनगरमा पत्रकारहरुसँग बोल्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले समहति हुन नसके संसदमा रहेको संविधान संशोधन विधेयकलाई मोर्चाको माग समावेश गरेर आफूहरुले पारित गर्ने बताएका थिए।

संसदमा समान्य छलफल भइसकेको उक्त संशोधन विधेयक माथि ७२ घण्टा लामो संशोधन हाल्ने समय शुरु भएको छ।