ग्रीस जाने आप्रवासीहरुको डुंगा दुर्घटनाग्रस्त

  • 5 जनवरी 2016
तस्वीर कपीराइट EPA

ग्रीसको लेस्बोस टापु तर्फ जान चाहने आप्रवासीहरु बोकेको एउटा डुंगा टर्कीको तटपारी डुब्दा कम्तीमा २१ जनाको ज्यान गएको छ।

टर्कीका अधिकारीहरुले तिनीहरुले मृतकहरुको शव दुई बेग्ला बेग्लै स्थानबाट निकालेका बताएका छन्।

मारिनेहरुमा कतिपय बालबालिकाहरु पनि छन्।

टर्कीको ऐभालिक र डीकीली समुद्र तटमा ति शवहरु फेला परेको थियो।

ऐभालिक तटमा रहेका तटरक्षकहरुले जीवितै रहेका हुनसक्नेहरुको उद्धारका लागि खोजी गर्दा आठजनालाई सकुशल फेला पारेका, डोगन समाचार एजेन्सीले जनाएको छ।

ढुंगा

स्थानीयबासिन्दाहरुका अनुसार ऐभालिक तटपारी दुर्घटनाग्रस्त भएको डुंगा समुद्रमा रहेका ढुंगाहरुमा ठोकिएको हुनसक्छ।

तस्वीर कपीराइट AP

सुरक्षाकर्मीले मृत फेला पारेकाहरु सबैले नै लाइफ ज्याकेट लगाएका थिए।

मृतकहरुको नागरिकताका बारे खुल्न नसके पनि स्थानीय गभर्नर नमिक कमाल नजील हुर्रीएतका अनुसार तिनीहरु सिरियाली, इराकी र अल्जेरियालीहरु थिए।

मंगलबार विहान ईजीयन सागरको अवस्था खराब रहेको बताइएको थियो।

अधिकारीहरुका अनुसार रबरबाट बनेका साना डुंगाहरु चढेर ति आप्रवासीहरुले ग्रीसको लेस्बोस पुग्ने प्रयास गरिरहेका थिए।

उद्धार

आइतबार मात्रै पनि डिकीली नगर पारीको एउटा सानो टापुबाट लेस्बोस तर्फ जाने प्रयासमा रहेका दर्जनौं मानिसहरुलाई उद्धार गरिएको थियो।

तस्वीर कपीराइट AP

त्यहां डुंगाहरु जान नसक्ने हुंदा हेलिकप्टहरुबाट ति मानिसहरुको उद्धार गर्नु परेको थियो।

कडा जाडो मौसमको समयमा पनि लगभग हरेक दिन जसो नै ग्रीक टापुहरुमा आप्रवासी तथा शरणार्थीहरु सवार डुंगाहरु पुग्ने क्रम जारी नै छ।

टर्कीबाट युरोप तर्फ जान चाहने धेरैजसो आप्रवासी तथा शरणार्थीहरुले ग्रीसको लेसबोसलाई नै पहिलो गन्तव्य बनाउने गरेका छन्।

सन् २०१५ मा दश लाख भन्दा बढी आप्रवासीहरुले भूमध्य सागर पार गरेका थिए।

ति मध्ये धेरैजसो टर्कीबाट ग्रीस गएका थिए।

संयुक्त राष्ट्रसंघका अनुसार, त्यसक्रममा ३ हजार ७७१ जना मारिएका वा बेपत्ता भएका छन्।