‘घुम्ती बैंकबाट भएपनि पीडितसम्म ऋण पुर्याइने’

  • 7 जनवरी 2016
तस्वीर कपीराइट epa

भूकम्प पीडितहरुलाई घर बनाउन सरकारले उपलब्ध गराउने भनिएको अनुदान र सहुलियतदरको ऋण दिने प्रक्रिया घुम्ती बैंकबाट भएपनि कार्यान्वयन गरिने अर्थमन्त्रीले बताएका छन्।

पुनर्निर्माण प्राधिकरणले मंगलबार पूर्णता पाएसँगै ऋण दिने प्रक्रिया द्रुत गतिमा शुरु हुने उनले बताए।

सरकारले भूकम्प पीडितहरुलाई घर बनाउन २ लाख रुपैयाँ अनुदान र त्यसबाहेकको २ प्रतिशतमा ऋण दिने निर्णय गरेको थियो।

भूकम्पका कारण भत्किएका घर पुनर्निर्माण गर्नका लागि सरकारले घरहरुको नमुना सार्वजनिक गरेपनि उनीहरुलाई दिने भनेको अनुदान रकम हालसम्म उपलब्ध गराउन सकेको छैन।

सहुलियत

यसका अतिरिक्त सहुलियत दरमा दिने भनिएको ऋण समेत पीडितहरुले पाउन सकेका छैनन्।

पुनर्निर्माण प्राधिकरण बन्न नसकेका कारण अनुदान र ऋणको काम अघि बढाउन नसकिएको बताउँदै आएका सरकारका अधिकारीहरुले प्राधिकरणले पूर्णता पाएसँगै प्रक्रिया अघि बढेको बताएका छन्।

अर्थमन्त्री विष्णु पौडेलले भने, “हामीले केही दिनअघि मात्र कानुन बनाउने काम सकेका छौँ, प्राधिकरणले पनि पूर्णता पाएको छ, अब ऋणको काम र अनुदानको काम द्रुत गतिमा प्रभावकारी ढंगले सँगसँगै अगाडि बढ्छ।”

तस्वीर कपीराइट SEDAT SUNA EPA

भूकम्प प्रभावित अधिकांश ठाँउहरु दुर्गममा भएको र त्यहाँसम्म बैंकको पहुँच नभएका कारण सरकारले उपलब्ध गराउने रकम पु-याउन कठिनाइ हुने कुरा आएकाले घुम्ती बैंकको प्रबन्ध गरिने मन्त्री पौडेलको भनाई छ।

ब्याजदर

उनले भने, “जुन खालको बैंकिङ प्रणाली हाम्रो छ, त्यसले मात्रै आवश्यकता पूरा नगर्ला। त्यसका लागि घुम्ती बैंकका लागि आवश्यक स्रोत साधन र सुरक्षाको प्रबन्ध गरेरपनि यो अभावलाई पूरा गर्छौँ।”

सरकारले घर बनाउन प्रतिपरिवार २ लाख रुपैयाँ अनुदान दिन सो रकमले नपुगे सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म २ प्रतिशत ब्याजदरमा ऋण दिने निर्णय गरेको थियो।

३ लाख रुपैयाँभन्दा बढी ऋण आवश्यक पर्नेले भने धितो राख्नुपर्ने व्यवस्था रहेको छ, तर उक्त धितो राख्ने प्रक्रियालाई पनि कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको अधिकारीहरुको भनाइ छ।