‘सिरियाले मडायामा सहायता पुर्याउने दिने’

  • 8 जनवरी 2016

भोकमरीका कारण मानिसहरुले ज्यान गुमाइरहेको खबरकाबीच सरकारी सेनाको घेराबन्दीमा रहेको विद्रोही नियन्त्रित मडायामा सहायता पुर्याउन दिन सिरिया सहमत भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

रियाली अधिकारीहरुसँग भएको सम्झौता बमोजिम, टर्कीसँगको सीमा नजिकै घेराबन्दीमा परेका दुई वटा गाउँमा ती सहायता सामाग्री पुर्याउने योजना छ।

महिनौँदेखी घेराबन्दीमा परेको ती स्थानमा, डाक्टरहरुले सुईमार्फत स्लाईन र गुलियो झोल दिएर बच्चाहरुलाई बचाइराखेका छन्।

खानेकुरा सकिएपछि पात र माटो समेत खाएको कतिपय मानिसहरुले बताएका छन्।

भयावह

तस्वीर कपीराइट Reuters

विश्व खाद्य कार्यक्रमका प्रवक्ता ग्रेग ब्यारोले ‘अति सहज अवस्था भए’ सहायता सामाग्री बोकेका ट्रकहरु मडाया पुग्न ७२ घण्टा लाग्ने बीबीसीलाई बताए।

उनले भने, “मेरो विचारमा हामीले के स्वीकार गर्नुपर्छ भन्दाखेरि ट्रकहरु एकदम तनावपूर्ण अवस्था भएर अघि बढ्नुपर्ने हुन्छ। हामीले यो पनि सुनिश्चित गर्नुपर्छ कि पहुँच जोखिमरहित छ।”

सहायता संस्थाहरुका अनुसार मडायाको स्थिति निकै भयावह छ।

संयुक्त राष्ट्रसंघले भनेको छ सिरियाली सरकारले उत्तरी क्षेत्रमा पर्ने केफ्राया र फोआहमा पनि सहायता सामाग्री पुर्याउन अनुमति दिएको छ।

तर ती स्थानहरु पनि मडाया गाउँजस्तै विद्रोहीहरुको कब्जामा छन्।

घेराबन्दी

करिब ४५ लाख सिरियालीहरु पहुँच गर्न कठिन स्थानमा छन् जसमध्ये ४ लाख मानिसहरु घेराबन्दी गरिएका १५ स्थानमा छन्।

उनीहरुलाई तत्काल जीवन जोगाउने सहायता चाहिएको छ तर त्यहाँसम्म खाद्यान्न पुर्याउन गाह्रो छ।

मडाया दमास्कसदेखि करिब २५ किलोमिटर उत्तर-पश्चिम र लेबननी सीमादेखि ११ किलोमिटर टाढा पर्छ।

उक्त गाउँलाई सिरियाली सेना र उसका सहयोगी लेबननको शिया समूह हेज्बोल्लाहका लडाकुहरुले गत जुलाइ महिनाको शुरुदेखि घेराबन्दी हालेका हुन्।