वर्तमान परिस्थितिप्रति पूर्वराजाको 'असन्तुष्टि'

  • 10 जनवरी 2016
Image caption कतिपयका बुझाईमा पूर्वराजाले वक्तव्य मार्फत भूमिकाको अपेक्षा प्रकट गरेका छन्

पूर्वराजा ज्ञानेन्द्र शाहले 'जनताले कोबाट कस्तो भूमिका र भरोसा चाहेका हुन्' भन्ने कुरा खुलाउनु पर्ने समय आएको बताएका छन्।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा वक्तव्य मार्फत ज्ञानेन्द्र शाहले वर्तमान परिस्थितिप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, "अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा खोजेका छन् खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ।"

आफूले ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै जनताको नासो जनतालाई सुम्पेर’ दरबार छाडेको उनको भनाई छ।

शाहले भनेका छन्, “तर सवैले विचार गर्नु पर्ने कुरा हो की मैले नेपाली घरवार छोडेको छैन। अनी नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन।”

अर्थ

विगतका वक्तव्य भन्दा प्रकट रुपमा आएको देखिएको उनको उक्त भनाईको अर्थ के हुन सक्छ?

राजसंस्थाका पक्षधर वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको बुझाईमा ‘बारम्बार उठिरहने पूर्वराजा, दलहरु र भारतीय नेताबीच एउटा सहमति भएको’ भन्ने कुरा वक्तव्य मार्फत अभिव्यक्त भएको हुनसक्छ।

उनी भन्छन्, "हिजो राम्रो होस भनेर मैले छाडें, राम्रो भएको भए त ठिकै थियो, तर राम्रो भएन त्यसैले अब कसको के भूमिका हो भन्ने परिभाषित गर्नु पर्यो भन्ने आशय देखिन्छ।"

प्रदेश सिमाङ्कन लगायतका विषयमा उत्पन्न विवादतर्फ लक्षित गर्दै पूर्वराजाले ‘बखेडा भइरहेको’ टिप्पणी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन् यो कदापी राम्रो कुरा होइन्।”

स्वाभाविक

पूर्वराजा ज्ञानेन्द्र देशमा लामो समयदेखिको असहज परिस्थितिबारे मौन थिए।

तर यसपटक उनले वक्तव्यमा ‘आर्थिक संकट, अभाव, अनुत्पादन र वाह्य निर्भरता बढदै गएको’ पनि उल्लेख गरेका छन्।

राजसंस्थाको पुन:स्थापनको माग गर्दै आएको राप्रपा नेपालका नेता तथा मन्त्री रामकुमार सुब्बा उनको टिप्पणीलाई स्वाभाविक ठान्छन्।

उनी भन्छन्, "नागरिकको हैसियतले यो राष्ट्रकोनिम्ति मेरो जिम्मेवारी के हो र मैले के जिम्मेवारी निर्वाह गर्दा राम्रो हुन्छ भनेर कसैले सोंच्छ भने त्यसलाई अन्यथा किन मान्ने?"

एकथरीका बुझाईमा पूर्वराजाको पछिल्लो धारणा आफ्नो पनि भूमिकाको अपेक्षा हो जसले राजसंस्थाका पक्षधरहरुलाई हौंस्याउन सक्छ।

तर गणतन्त्रप्रति प्रतिबद्ध देखिएका प्रमुख दल उनलाई कुनै भूमिका दिने पक्षमा देखिन्नन्।