कोलोनमा हिंसाका पाँच सय बढी उजुरी

  • 11 जनवरी 2016
तस्वीर कपीराइट EPA

जर्मनीको कोलोन शहरमा नयाँ वर्षको पूर्व सन्ध्यामा भएको हिंसासम्बन्धी ५१६ वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

दर्ता गरिएका उजुरीहरुमध्ये ४० प्रतिशत यौन दुर्व्यवहारसँग सम्बन्धित रहेको प्रहरीको भनाई छ।

उत्तरी बन्दरगाह शहर ह्यामबर्गमा १ सय ३० भन्दा बढी त्यस्तै उजुरी परेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नयाँ वर्षको पूर्व सन्ध्यामा भएका ती घटनाका अधिकांश संदिग्ध शरण खोज्ने र उत्तरी अप्रिकाबाट आएका गैरकानुनी आप्रवासीहरु छन्।

आलोचना

ती घटनाले जर्मनीमा चान्सलर एंगेला मर्केलको खुला आप्रवासन नीतिको आलोचना निम्त्याएका छन्।

तस्वीर कपीराइट Reuters

मर्केलको नीतिका कारण सन् २०१५ मा जर्मनीमा शरण माग्ने आप्रवासीहरुको संख्या ११ लाख पुगेको थियो।

कोलोनमा भएका यौन दुर्व्यवहार र चोरीका घटना अन्य शहरहरुमा भएका सोही प्रकृतिका घटनासँग सम्बन्धित रहे वा नरहेकोबारे छानबिन गर्न जर्मन अधिकारीहरुलाई भनिएपछि उजुरीको संख्या बढेको विवरण सार्वजनिक भएको हो।

जर्मन न्यायमन्त्री हाइको मासले आइतबार ती आक्रमणहरु सुनियोजित भएकोमा आफू विश्वस्त रहेको एउटा स्थानीय पत्रिकालाई बताएका छन्।

आप्रवासी

उनले भने, “यदि यस्तो किसिमको भीड अपराध गर्नका निम्ति भेला हुन्छ भने त्यो सुनियोजितनै हुन्छ, कसैले मलाई यो भन्न सक्दैन कि त्यो सुनियोजित थिएन।”

अधिकारीहरु र प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरु करिब एक हजारको संख्यामा थिए, जसमध्ये अधिकांश पुरुष थिए।

उनीहरु कोलोनस्थित केन्द्रीय रेल्वे स्टेशनमा जम्मा भए र त्यसपछि स-साना समूहमा विभाजित भई महिलाहरुमाथि दुर्व्यवहार र चोरीमा संलग्न भएका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले मुख्यतः उत्तर अफ्रिकी मूलका संदिग्धहरुसँग सोधपुछ केन्द्रित गरिएको बताएका छन्।