शनिबारदेखि राष्ट्रिय पुनर्निर्माण महाअभियान

  • 11 जनवरी 2016
तस्वीर कपीराइट bharat bandu thapa
Image caption पुनर्निर्माण शुरु नहुँदा भूकम्प पीडितहरुको जीवन कष्टपूर्ण बनेको छ

भूकम्पले विनाश निम्त्याएको करीब आठ महिनापश्चात गठित पुनर्निर्माण प्राधिकरणले यही शनिबारबाट पुनर्निर्माण महाअभियान थाल्ने निर्णय गरेको छ।

लामो समयदेखि अलपत्र परेको पुनर्निर्माणको कार्यलाई अघि बढाउन उसले प्रभावित जिल्लाहरुमा उपक्षेत्रीय कार्यालयहरु समेत स्थापना गर्ने निर्णय गरेको अधिकारीहरुले बताएका छन्।

निर्णय

पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको सोमबार बसेको पहिलो बैठकले विक्रम सम्वत १९९० सालको महाभूकम्पको सम्झनामा हरेक वर्ष भूकम्प सुरक्षा दिवसको रुपमा मनाइने माघ २ गते लाई नै पारेर महाअभियान थाल्ने निर्णय गरेको हो।

उक्त निर्णयबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, “यही माघ २ गतेबाट राष्ट्रिय पुनर्निर्माण महाअभियान शुरु गरिनेछ। उक्त कार्यक्रमको शुभारम्भ रानीपोखरीबाट गर्न राष्ट्रपतिलाई निम्ता गरिनेछ। सोही दिन ललितपुरको बुङ्गमतिबाट प्रधानमन्त्रीलाई निम्त्याई स्थानीय जनताको आवास तथा पूर्वाधार सम्बन्धित कामको थालनी गरिनेछ।”

वैशाखका भूकम्पले सबभन्दा धेरै क्षति निम्त्याएका १४ वटा जिल्लामा स्थानीय स्तरबाटै पुनर्निर्माणको कार्य सञ्चालन गर्ने उद्देश्यले सात वटा ठाउँमा उपक्षेत्रीय कार्यालय गठन गर्ने निर्णय सोमबारकै बैठकले गरेको बताइएको छ।  

सो बैठकले पुनर्निर्माण प्राधिकरणको प्रशासनिक कार्य सञ्चालनका निम्ति करीब २९ करोडको बजेट समेत स्वीकृत गरेको छ।

आँकलन

भूकम्पबाट पीडितहरुको संख्या अनि क्षतिको विवरणबारे हाल प्राप्त विवरणमा कमी कमजोरी रहेकाले बेला बेला छुटपुट तथा नक्कली पीडितका खबरहरु आउने गरेको भन्दै प्राधिकरणले त्यसको अब यथार्थ आँकलन गरिने बताएको छ।

त्यसका निम्ति प्राविधिकहरुको डफ्फालाई गाउँगाउँ खटाइन लागेको प्रमुख कार्यकारी ज्ञवालीले बताए।

“आगामी महिनाभित्र करीब १५ सय इञ्जिनियरहरुलाई हामी गाउँगाउँमा विस्तृत सर्वे गर्न पठाउने छौं। हाल छुटेको अनि नक्कली निस्किएको भन्ने गुनासो आइरहेका छन्। वास्तविकता बुझेपछि कार्यान्वयन योजना बनाउन हामीलाई सहज हुन्छ,” उनले भने।

पुनर्निर्माणका लागि अत्यावश्यक भनिएको ज्यामी, डकर्मी तथा इञ्जिनियरहरुको प्रशिक्षण पनि अघि बढाइने प्राधिकरणका प्रमुख कार्यकारीको ज्ञवालीले जनाएका छन्।