‘नाका अवरोधको धक्का भूकम्पभन्दा ठूलो’

  • 12 जनवरी 2016
तस्वीर कपीराइट madhesicommunityfacebook
Image caption आन्दोलन लम्बिएपछि अर्थतन्त्रमा परेको असर गम्भीर बन्दै गएको बताइएको छ

तराई आन्दोलन र नाका अवरोधका कारण हालसम्म निजी क्षेत्रका २२ सय उद्योग बन्द भएका अनि ४ लाख कामदार प्रभावित भएको उद्योगी व्यवसायीहरुले जनाएका छन्।

पछिल्ला दिनहरुमा बन्द हडताल खुकुलो भएकाले ती उद्योग मध्ये केही आंशिक खुल्न थालेका छन्।

तर हालसम्म औसतमा दैनिक दुई अर्ब रुपियाँको दरले नोक्सानी भइरहेको उनीहरुले जनाएका छन्।

क्षति

तराईमा आन्दोलन शुरु भएको १५२ दिन पुग्दै गर्दा मंगलबार उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा खासगरी निजी व्यवसायीहरुले भोग्नु परेको आर्थिक क्षतिको तस्वीर प्रस्तुत गरिएको थियो।

महासंघ अन्तर्गतको कर राजस्व समितिका सभापति तथा उद्यमी सौरभ ज्योतिले देशभरका व्यवसायीहरुसंग गरेको कुराकानीका आधारमा तयार पारेको विवरणले यसपालीको आर्थिक क्षति भूकम्पले पुर्याएको भन्दा धेरै भएको देखाएको छ।

“यो त अझ ठूलो आर्थिक भूकम्प हो किनभने त्यतिखेर १४ जिल्ला र २० प्रतिशत जनतामात्र प्रभावित भएका थिए भने अहिले सबै जिल्लाका शतप्रतिशत नेपाली प्रभावित भएका छन्,” ज्योतिले बताए।

उनको विवरण अनुसार २२ सय भन्दा धेरै उद्योग धन्दा बन्द भएको अनि ४ लाख मानिसको रोजगारी प्रभावित भएको छ।

राहत

बन्द हडताल हुँदा दैनिक २ अर्ब रुपियाँ नोक्सानी हुने गरेको अनुभवका आधारमा अहिलेको नोक्सानी ३ खर्ब रुपियाँ नाघेको अनुमान गरिएको छ।

खासगरी आयातमा निर्भर अर्थतन्त्र भएकाले व्यापारमा आएको एक तिहाईको गिरावटले अर्थतन्त्रमा निकै गहिरो घाउ लगाएको ज्योतिले बताए।

तर आन्दोलन र नाका अवरोध खुकुलो भएपछि ती मध्ये केही उद्योग आंशिक खुल्न थालेको हुँदा त्यसले थोरै राहत भएको उनले बताए।

“आन्दोलन भएको १५२ दिन मध्ये १ सय देखि १२० दिनसम्म त सबै पूरै ठप्प थिए। अहिले स्थिति केही सहज भएकाले उद्योगहरु थोरै शिफ्टमा काम थाल्दैछन्,” उनले भने।

उद्योगी व्यवसायीहरुको मर्कालाई सम्बोधन गर्न भन्दै सरकारले गत साता एक खर्ब रुपियाँको पुनर्उद्वार कोष गठन गरेको थियो।

त्यसबाट पीडित व्यवसायीलाई सहुलियतपूर्ण ऋण दिने तयारी शुरु भइसकेको अर्थ राज्य मन्त्री दामोदर भण्डारीले बताए।

“एउटा कार्याविधिको माध्यमबाट यस्तो समस्यामा परेका उद्योग व्यवसायलाई सहयोग गर्न सरकार लागिपरेको छ,” राज्यमन्त्री भण्डारीले बताए।

तराई आन्दोलन र नाका अवरोध लम्बिंदै गएपछि केही उद्योगधन्दा मात्र बन्द हुने होइन देशको आर्थिक वृद्धिनै शून्यमा ओर्लने र अझ घट्ने डरलाग्दो सम्भावना सामुन्ने आएको अर्थविदहरुले बताउन थालेका छन्।