कच्चा तेलको मूल्य १२ वर्षकै न्यून

  • 14 जनवरी 2016
अमेरिकी तेल कुवा तस्वीर कपीराइट Getty
Image caption अमेरिकामा तेल उत्पादन बढेको खबरसंगै अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य न्युनतम विन्दुमा आएको हो

अन्तर्राष्ट्रिय बजारहरुमा कच्चा तेलको मूल्य झरेर १२ वर्षकै सबैभन्दा न्युनतम विन्दुमा आइपुगेको छ।

अमेरिकाको तेल भण्डारण क्षमता बढेका खबरमाझ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झनै घटेको हो।

चीनको अर्थतन्त्रमा भइरहेको वृद्धि केही मन्द हुनु तेलको मूल्य खस्किनुको अर्को कारण मानिएको छ।

सन् २०१४ यता तेलको मूल्यमाथि चर्को दबाब पर्दै आएको छ। साथै अमेरिकामा हालैका वर्षमा तेलको उत्पादन पनि बढिरहेको छ।

यसअघि तेलको मूल्य ओरालो लाग्दा तेल निर्यातकर्ता राष्ट्रहरुको संगठन ओपेकले तेलको उत्पादनमा कटौती गर्ने गर्दथ्यो।

प्रतिश्पर्धा

तर यसपालि ओपेकले तेलको उत्पादन घटाएको छैन।

न्यू योर्कबाट बीबीसीका नाडा तौफिक भन्छिन्, “बढ्दो तेल भण्डारणका कारण तेलको मूल्य झर्ने क्रम सन् २०१६मा जारी रहने देखिन्छ।”

त्यसमाथि इरान पनि तेल बजारमा प्रवेश गर्दैछ।”

“तेल निर्यातकर्ता देशहरुको संगठन ओपेकले पनि तेल उत्पादनमा कटौती गर्ने लक्षण छैन। त्यसको असर बजारमा पर्ने निश्चित छ।”

तेलको मूल्य झरेको असर अमेरिकी सट्टा बजारमा समेत देखिएको छ, जहाँ शेयरको मूल्य ओरालो लागेको छ।

अमेरिकामा लगानीकर्ताहरुले थप सुरक्षित क्षेत्रमा लगानी गर्न थालेका छन्।

'सस्तो'

अर्थविदहरु भन्छन् तेलको मूल्य झर्नु तेल किनेर फाइदा लिइरहेका अर्थतन्त्रहरुका लागि राम्रो संकेत हो।

बीबीसीका एन्ड्रयु वाल्कर भन्छन्, “तेलको मूल्य झरेसंगै बजारभाउ पनि सस्तो हुनेछ।”

“तेलको मूल्य झर्दा तेल किन्ने देशहरुका उपभोक्ताहरुलाई पनि फाइदा पुग्ने गर्दछ।”