जकार्ता बम हमलामा सातको मृत्यु

  • 14 जनवरी 2016
बम हमलापछि तस्वीर कपीराइट Twiiter
Image caption जकार्तामा बम आक्रमण कसले गराएको हो त्यो प्रष्ट भइसकेको छैन

इण्डोनेसियाको राजधानी जकार्ताका विभिन्न स्थानमा श्रृङ्खलावद्ध बम विष्फोटन र त्यसपछि भएका गोली हानाहानमा ५ जना हमलाकारी अनि कम्तीमा २ जना गैरसैनिक मारिएका विवरणहरु प्राप्त भएका छन्।

प्रहरीको भनाइमा आक्रमणमा केही आत्मघाती बम हमलाकारी सहित कम्तीमा १४ जना विद्रोहीहरु संलग्न थिए। आत्मघाती बम विष्फोटनहरु पछि गोली चलेको र त्यस क्रममा कम्तीमा ७ जना मारिएको बताइएको छ।

जकार्ताको एक क्याफे, राष्ट्रपति निवास र संयुक्त राष्ट्रसंघको कार्यालय नजिकै रहेको किनमेल केन्द्रमा बम विष्फोट भएको बताइएको छ।

बम विष्फोटन भएको किनमेल केन्द्र नजिकै रहेका एक बीबीसी संवाददाताका अनुसार त्यस क्षेत्रमा हातहतियारले सुसज्जित प्रहरी परिचालन गरिएको र विष्फोटन भएको क्षेत्रमा घेरा हालिएको थियो।

बम आक्रमण कसले गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन। तर प्रहरीले इस्लामिक स्टेट विद्रोहीको नाममा हमलाका अस्पष्ट चेतावनीहरु उनीहरुले पाएका थिए।

उच्च सतर्कता

विश्वकै सबैभन्दा धेरै मुसलमान जनसंख्या भएको इण्डोनेसियामा विगतमा कयौं पटक इस्लामवादी विद्रोहीहरुले आक्रमण गरिसकेका छन्।

हालै इस्लामिक स्टेट विद्रोही समूहले आक्रमण गर्ने चेतावनी दिएपछि इण्डोनेसियामा उच्च सतर्कता अपनाइएको थियो।

बीबीसीकी पूर्व इण्डोनेसिया संपादक करिश्मा वासवानी भन्छिन्, अहिले गरिएको हमला सन् २००९ मा मारियोट र रिट्ज होटेलमा गरिएको बम हमलापछिको सबैभन्दा ठूलो हो।

इण्डोनेसियाका प्रहरीले अर्को आक्रमण हुन सक्ने चेतावनी दिदै आएका थिए।

उनी भन्छिन् अहिले गरिएको आक्रमण विगतका भएका सबै आक्रमण भन्दा फरक प्रकृतिको छ।

एक राष्ट्रसंघीय अधिकारी जेरेमी डग्लसले बीबीसीलाई भने बम आक्रमण उनको कार्यालय भन्दा १५० मिटर पर भएको थियो।

“त्यसपछि हामी दौडिएर भवन भित्र छिर्यौं। हामीले फेरि अर्को विष्फोटनको आवाज सुन्यौं।”

प्रहरीले मानिसहरुलाई घर भित्रै बस्न आग्रह गरेको छ। अधिकारीहरुले शान्त रहन सबैलाई अपील गरेका छन्।