वागाडुगु आक्रमणमा बन्धक बनाइएकाहरु मुक्त

  • 16 जनवरी 2016
तस्वीर कपीराइट AP

बुर्किना फासोको राजधानी वागाडुगुस्थित एक होटलमा सन्दिग्ध इस्लामवादी बन्दुकधारीहरुले आक्रमण गरी बन्धक बनाएका झन्डै ३० जनालाई मुक्त गराइएको अधिकारीहरुले बताएका छन्।

पश्चिमाहरुको चहलपहल हुने होटलमा गरिएको उक्त हमलामा कम्तीमा २० जना मारिएको समाचारहरुमा जनाइएको छ।

पछिल्लो विवरणका अनुसार त्यसरी मुक्त हुने मध्ये एक जना बुर्किना फासोको मन्त्रीमण्डलका सदस्य छन्।

बन्धुकधारीहरुले मालीसँगको सीमा नजिकै दुई जनाको दिउँसो हत्या गरेपनि ती दुई घटना एक अर्कासँग सम्बन्धित भए नभएको प्रष्ट भइसकेको छैन।

हमला

पश्चिमाहरुको चहलपहल हुने बुर्किना फासोको राजधानी वागाडुगुस्थित होटलमा आक्रमण गरी बन्धुकधारीहरुले कयौँलाई बन्धक बनाएका र समाचारहरुमा जनाइए अनुसार २० जनाको हत्या गरेका छन्।

स्थानीय समय अनुसार करिब साढे सात बजेतिर होटल बाहिर दुईवटा कार बम विस्फोटन गराइएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

नकाब लगाएका तीन देखि चार जना बन्दुकधारीहरु राष्ट्रसंघका कर्मचारी र पश्चिमाहरु बढी आउने ‘स्पलेन्डिड होटल’मा प्रवेश गरेका थिए।

उक्त शहरको एउटा अस्पतालका निर्देशक रोबर्ट साङगारेले कम्तीमा २० जना मारिएको र १५ जना घाइते भएको बताए।

स्थानीय समयअनुसार एक बजेपछि बन्धकहरुलाई मुक्त गर्ने प्रयासमा सुरक्षा कारबाही सुरु गरिएको थियो।

बुर्किना फासोका संचारमन्त्रीका अनुसार फ्रान्सेली विशेष फौजको सहयोगमा बन्धकहरुलाई छुटाइएको हो।

उनले उक्त घटनामा हालसम्म कतिले ज्यान गुमाए वा होटलमा अझै कोही कब्जामा नै परिरहेका छन् भन्ने प्रष्ट नभइसकेको उल्लेख गरे।

गोली

तस्वीर कपीराइट AP

होटलको एउटा भागमा आगो लागेको पनि जनाइएको छ।

बुर्किना फासोका विदेशमन्त्री अल्फा बेरीले फ्रान्ससहित अन्य विदेशी फौजको समेत समर्थन लिएर कारबाही गर्ने सम्भावनातर्फ संकेत गरेका छन्।

जिहादी गतिविधि निगरानी गर्ने एउटा समूहले अल कायदा इन द इस्लामिक मागरिबले उक्त आक्रमण गराएको जनाएको छ।

प्रत्यक्षदर्शीहरुले हमलाकारी सुरुमा नजिकैको एउटा क्याफेमा प्रवेश गरेका थिए र त्यहाँ उनीहरुले कयौँ मानिसहरुको हत्या गरेको एक जना कामदारले एएफपी समाचारसंस्थालाई बताएका छन्।

प्रत्यक्षदर्शीहरुले ती आक्रमणकारी र सुरक्षाफौजबीच बन्दुक हानाहानको आवाज सुनेको र अन्तराष्ट्रिय विमानस्थल नजिकैको एउटा चार तारे होटलबाट पनि गोली चलेको उल्लेख गरेका छन्।

अघिल्लो वर्ष सैन्य ‘कू’ गरिएपछि हालै बुर्किना फासोले पहिलो राष्ट्रपति चुनाव गरेको छ।

उक्त ‘कू’ले २७ वर्ष शासन गरेका ब्लेज कोङपाओरेको शासन ढालेको थियो।