इरानमाथिका प्रतिबन्धहरु फुकुवा

  • 17 जनवरी 2016
तस्वीर कपीराइट EPA

राष्ट्रसंघीय आणविक निकायले परमाणु हतियार बनाउन वञ्चित गर्ने एउटा सम्झौता इरानले पालना गरिरहेको पुष्टि गरेपछि उसमाथि लगाइएका प्रतिबन्धहरु हटाइएको छ।

इरान र विश्व शक्ति राष्ट्रहरुबीच गएको जुलाईमा उक्त सम्झौता भएको थियो।

प्रतिबन्धहरु हटाइएपछि रोक्का गरिएका इरानका खर्बौ डलर बराबरका सम्पत्ति फुकुवा हुने र इरानी तेल अन्तर्राष्ट्रिय बजारमा विक्री गर्न बाटो खुल्नेछ।

अमेरिकी विदेशमन्त्री जन केरीले इरानले परमाणु हतियार बनाउने जोखिम घटेको तर उसमाथि निरन्तर अनुगमन गरिनुपर्ने बताए।

सम्झौता

अघिल्लो जुलाईमा भएको सम्झौता अनुसार इरानले नाटकीय रुपमा ‘सेन्ट्रिफ्युज’हरुको संख्या कटौती गर्नुपर्थ्यो र आरक शहर नजिकैको एउटा ठूलो रियाक्टर, जसबाट परमाणु हतियार बनाउन सकिने ठानिन्छ, विघटन गर्नुपर्ने थियो।

अन्तर्राष्ट्रिय आणविक निगरानी समूह आइएइएले भनेको छ, उसका निरीक्षणकर्ताहरुले तेहरानले आवश्यक कदमहरु चालेको प्रमाणित गरेका छन्।

भियानास्थित आइएइएको मुख्यालयमा बोल्दै युरोपेली युनियनका विदेश नीति प्रमुख फेडेरिका मोग्यारीनीले उक्त सम्झौताले क्षेत्रीय शान्ति र स्थिरतालाई सुदृढ बनाउने बताइन्।

इरानले सधैँ आफ्नो परामाणु कार्यक्रम शान्तिपूर्ण रहेको बताउने गरेको छ तर पछिल्लो सम्झौताका विरोधीहरु खासगरी, अमेरिकी रिपब्लिकनहरुले, त्यसबाट परमाणु बम बनाउन इरानलाई कसैले रोक्न नसक्ने धारणा राख्ने गरेका छन्।

स्वागत

तस्वीर कपीराइट

अमेरिकी विदेशमन्त्री जन केरीले तेहरानले महत्वपूर्ण कदमहरु चालेको र धेरैले यस्तो अवस्था आउने आंशका गर्ने गरेको उल्लेख गरे।

भियनामा बोल्दै उनले भने, “संयुक्त राज्य अमेरिका, हाम्रा मित्रहरु र मध्यपूर्वका साझेदारहरु र पुरै विश्व सुरक्षित बनेको छ किनभने परमाणु हतियारको जोखिम अब घटेको छ।”

इरानी राष्ट्रपति हसन रुहानीले ट्विटरमार्फत प्रतिबन्धहरु फुकुवा हुनु उनकै शब्दमा ‘आफ्नो धैर्यवान राष्ट्रको महान विजय’ भएको जनाएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले इरानमाथिको प्रतिबन्ध हट्नुलाई महत्वपूर्ण कोशेडुंगा भन्दै सबै पक्षले आफ्नो प्रतिवद्धता पालना गरेको बताएका छन्।

ब्रिटिश र जर्मन विदेशमन्त्रीहरुले उक्त सफलता दृढ कूटनीतिबाट प्राप्त भएको टिप्पणी गरेका छन्।

आशंका

तर सबै प्रतिक्रियाहरु सकारात्मक छैनन्।

इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानले अझै पनि परमाणु हतियार बनाउन चाहिरेहको धारणा राखेका छन्।

वासिङटनमा रिपब्लिकन नेता पल रायनले इरानले आफूले पाउने लाभमार्फत आतंकवादलाई प्रायोजन गर्न सक्ने चेतावनी दिएका छन्।

भविष्यमा परमाणु कार्यक्रमको अनुगमन कसरी गर्ने भन्नेबारे छलफल गर्न आइतबार आइएइएका प्रमुख इरान जाने बताइएको छ।

शनिबार नै इरानले वासिङटन पोष्टका एक पत्रकार सहित अन्य चार इरानी अमेरिकी बन्दीहरु रिहा गरेको विवरण आएका थिए।

अमेरिकामा जेलमा रहेका इरानी बन्दीको सट्टामा उनीहरुलाई रिहा गरिएको बताइएको छ।