राष्ट्रसंघीय परमाणु निकायद्वारा इरानी कदमको स्वागत

  • 18 जनवरी 2016
तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्रसंघीय परमाणु निकायका प्रमुखले परमाणु गतिविधि कटौती गर्नमा इरानले गरेको प्रगतिको स्वागत गरेका छन्।

तर उनले इरानले आफ्ना सबै परमाणु स्थलहरुमा सो निकायलाई पूर्ण पहुंच दिनु पर्ने बताएका छन्।

शनिबार इरान विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु हटाइएयता पहिलो पल्ट तेहरानको भ्रमणमा रहेका ती राष्ट्रसंघीय निकायका प्रमुख, युकिया अमानो, ले अब दुवै पक्षले हालको प्रगतिको गतिलाई अघि बढाउनु पर्ने बताए।

संयुक्त राष्ट्रसंघीय परमाणु निगरानी निकायले भनेको छ, इरानले उक्त संस्थासंगको सम्बन्ध थप प्रगाढ बनाएर अघि बढ्न सहमति जनाएको छ।

तेहरान भ्रमणमा रहेका आइए इएका प्रमुखले भनेका छन् अब इरानले उनको संस्थालाई कानुनी रुपमा प्राप्त अधिकार बमोजिम इरानले अब प्रमाणीकरण प्रकृयालाई पूर्ण रुपमा सहयोग गर्नु पर्छ।

तस्वीर कपीराइट Reuters

समय

उक्त राष्ट्रसंघीय निकायले अब इरानका सबै परमाणु क्रियाकलापहरु शान्तिपूर्ण प्रयोजनका लागि हुन् भनेर प्रमाणीकरण गर्ने प्रयास गर्नु पर्नेछ, जुन कामका लागि बर्षौंको समय लाग्न सक्छ।

यसैबीच इरानले संयुक्त राज्य अमेरिकाले ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षणको विषयलाई लिएर आफू विरुद्ध लगाएको नयां प्रतिबन्धहरुप्रति असन्तोष व्यक्त गरेको छ।

विदेश मन्त्रालयका एकजना प्रवक्ताले भने, ती नयां प्रतिबन्धहरुको कुनै कानूनी र नैतिक वैधता छैन।

तस्वीर कपीराइट Reuters

गत अक्टोबर महिनामा इरानले राष्ट्रसंघीय प्रतिबन्धको बेवास्ता गर्दै परमाणु अस्त्र बोक्न सक्ने एउटा ब्यालेष्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

अमेरिकी अर्थ मन्त्रालयले लगाएको नयां प्रतिबन्ध अनुसार उक्त क्षेप्यास्त्र कार्यक्रमसंग सम्बन्धित ११ थरी संस्था र व्यक्तिहरुलाई अमेरिकी बैङ्किग प्रणालीको प्रयोगमा रोक लगाइएको छ।

इरानको परमाणु कार्यक्रमका सम्बन्धमा भएको एउटा सहमति अन्तर्गत सो देश विरुद्ध लगाइएको विश्वव्यापी आर्थिक प्रतिबन्धहरु हटाइएको केही समय पछि नै त्यस्तो अमेरिकी कदम चालिएको हो।