तीन दल, मोर्चा बैठक पुन: विफल

  • 18 जनवरी 2016
बैठक
Image caption पटक पटक बसेका यस्ता वार्ता अहिलेसम्म निष्कर्षविहीन रहेका छन् (फाइल फोटो)

संसदको बैठक बस्नु अघि नै आन्दोलरत पक्ष सँग सहमति गरीसक्ने भन्दै वार्तामा जुटेका प्रमुख तीनदल र मधेशी मोर्चाबीचको कार्यदलको वार्ता विना निष्कर्ष टुङगिएको मोर्चाका नेताहरुले बताएका छन्।

शुरुमा तीन दलका शीर्ष नेताबीच भएको छलफल पछि कार्यदलमा रहेका दुबै पक्षका नेताहरुबीच वार्ता भएको थियो।

आईतबार बसेको कार्यदलको बैठकले तयार पारेको अनौपचारिक खाकामाथि सोमबार शीर्ष नेताहरुले छलफल गरी निचोड निकाल्ने बताइएको थियो।

समयसीमा

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सँगको जारी वार्तामा सहमतिका लागि लचिलो भएर प्रस्तुत हुने बताउँदै आएका प्रमुख तीन दलहरुले निर्धारण गरेको समयसीमा नजिकिंदै गर्दा बसेको सोमबारको बैठकमा नेताहरुले अरु दिनको भन्दा धेरै समय खर्चिएका थिए।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड धनगढीबाट आए लगत्तै दिउँसोबाट शुरु भएको प्रमुख तीन दलको छलफल लगत्तै कार्यदलको बैठक बसेको थियो।

शीर्ष नेताहरुका बीचमा कुनै सहमति हुन नसकेको भने पछि वार्ता अघि बढ्न नसकेको मोर्चाको तर्फबाट कार्यदलमा रहेका तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बताए।

"सीमांकन लगायत संविधान संशोधनका विषयमा हाम्रा माग समेट्न उहाँहरु तयार हुनुभएन। वार्तामा बसिराख्ने औचित्य हामीले बुझेनौं," उनले भने।

परिमार्जन

सोमबारको वार्ता सफल हुन नसक्नुको कारणबारे नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रक्षा मन्त्री एवं कार्यदल सदस्य भीम रावलले भने, "अहिले नै कहाँ कति प्रदेश हुनेछन् र कहाँको प्रदेश कसरी परिमार्जन गर्ने भन्ने कुरा नगरौं, त्यो काम राजनीतिक संयन्त्रले गर्छ भनेर हामीले भन्यौं, उहाँहरुले मान्नु भएन।"

मोर्चाको मागको रुपमा रहेको समावेशी समानुपातिक र निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा संसदमा रहेको संशोधन विधेयक माथि परेका पूरक संशोधनलाई समेटेर पारित गराउने र प्रदेशको सीमाङकनका विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने भन्नेमा कार्यदल सहमत रहेको बताइएको छ।

तर उक्त राजनीतिक संयन्त्रको क्षेत्राधिकार, वैधानिकता, समयसीमा लगायतका विषयमा दुवै पक्षबीच रहेको फरक मतलाई सोमबार शीर्ष नेताहरु बसेर टुङगो लगाउने कार्यक्रम तय गरिएको थियो।